खेल हेर्न र आफ्नो टिमलाई हौसला प्रदान गर्न त्रिवि क्रिकेट मैदानमा बालबालिका, युवादेखि पाका उमेर सबैको जोश देख्न सकिन्छ
काठमाडौँ — क्रिकेटप्रेमीका लागि अहिले नेपाल प्रिमियर लिग (एनपीएल) उत्सव बनेको छ । लिगमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी आठ टिमले खेलिरहेका छन्, जसले सबै प्रदेशका दर्शकलाई तानेको छ । आफ्नो टिमलाई समर्थन गर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हरेक दिन दर्शकको भीड लाग्ने गरेको छ ।
विदेशी खेलाडीलगायतको सहभागिताका कारण एनपीएलले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै चर्चा बटुलिरहेको छ ।
एनपीएलले यत्तिको चर्चा पाउनुको कारणमध्ये एक हो, दर्शकको सहभागिता । खेल हेर्न र आफ्नो टिमलाई हौसला दिन मैदानमा बालबालिका, युवादेखि वृद्धवृद्धासम्म पुगेका छन् । यी दर्शकमध्ये केही त सातै प्रदेशका विभिन्न जिल्लाबाट लामो दूरी पार गर्दै काठमाडौंसम्म आइपुगेका छन् । त्यस्ता दर्शकमध्येका एक दम्पती हुन्, दामोदर र सुनिता थपलिया । थपलिया दम्पती चितवन राइनोजलाई समर्थन गर्न चितवनबाट काठमाडौं आएका हुन् । उमेरले ५५ वर्ष टेक्दै गरेका दामोदर भन्छन्, ‘चितवनकै खेल हेर्न भनेर टिकट लिएका थियौं । मंगलबार पहिलो पटक खेल हेर्यौं ।’
चितवन राइनोजले बुधबारसम्म ५ खेल खेलिसकेको छ, जसमा तीनमा जित र दुईमा हार बेहोरेको छ । थपलियाले हेरेको मंगलबारको खेलमा भने चितवन लुम्बिनी लायन्ससँग पराजित भएको थियो । ‘अहिलेसम्म चितवनले राम्रो खेलिरहेको छ । त्यसैले उत्कृष्ट चारभित्र पर्ने सम्भावना प्रबल छ,’ उनले आफ्नो टिमलाई समर्थन गर्दै भने । उनलाई सातै प्रदेशको टिमले एक स्थानमा भेला भएर खेलिरहँदा खेलको उत्सव भएझैं लागेको छ । ‘सातै प्रदेशका मान्छे एउटै स्टेडियमभित्र बसेर रमाइलो मान्दा राम्रो लागिरहेको छ,’ उनले भने ।
फुटबल र ब्याडमिन्टन खेल्ने उनलाई अहिले क्रिकेट हेर्न जीवनसंगी सुनिताले साथ दिएकी छन् । ‘श्रीमतीलाई खेलमा खासै रुचि छैन । तर मैले हेर्ने भएपछि उनले पनि साथ दिएकी छन्,’ उनले भने, ‘मैले पनि खेल बुझाउने र खेलाडी चिनाउने गरेको छु ।’ थपलिया क्रिकेटमा एक बलपछि अर्को बल हेर्न मज्जा हुने बताउँछन् । अझ २० ओभरको खेलमा त एकै ओभरको ब्याटिङ र बलिङले खेलको नतिजा नै उलटफेर गर्न सक्ने भएकाले पनि अझ उत्सुकता जाग्ने उनको अनुभव छ । ‘अब कति रन हान्ला ? अब के गर्ला ? भन्ने हुन्छ,’ उनले भने ।
एनपीएलमा आफ्नो टिमको जितमा खुसी हुने र पराजित हुँदा पनि समर्थन गरिरहने लगाब दर्शकमा देखिन्छ । ‘पहिलो पटक एनपीएल हेर्न आएको । लुम्बिनीले जित्दा एकदमै खुसी लागिरहेको छ,’ लुम्बिनी लायन्सलाई समर्थन गर्ने १८ वर्षीया अंकिता भट्टराई भन्छिन्, ‘आफूले समर्थन गरेको टिमले जित्दा मज्जा आउँछ ।’ कपिलवस्तुकी अंकिताले एनपीएलको चर्चाले खेल हेर्न मैदानमा तानेको बताइन् । उनले मंगलबारको कर्णाली याक्स र पोखरा एभेन्जर्सको दोस्रो खेल पनि हेरिन् ।
कालिकोट घर भई कीर्तिपुर बस्दै आएका २१ वर्षीय जनचन्द्र विष्टले एनपीएलको खेल हेर्न छुटाएका छैनन् । मंगलबार कर्णाली याक्सलाई समर्थन गर्न पहिलो पटक मैदानमा आएका उनले भने, ‘कर्णालीको सबै खेल निरन्तर हेरिरहेको छु ।’ एनपीएल देशकै गौरव गर्नलायक प्रतियोगिताको रूपमा देखिएको उनको बुझाइ छ । यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्ने र यसले खेलाडीलाई समेत खेलमा लागिरहन प्रेरणा दिने विष्टले बताए । ‘एनपीएल राम्रो लागिरहेको छ । यस्तो प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्छ,’ उनले भने, ‘अन्य खेलको पनि यस्तो प्रतियोगिता आयोजना हुनुपर्छ ।’
क्रिकेट खेल्दै आएका वीरगन्जका प्रितम बरालले पनि यस किसिमको प्रतियोगिता घरेलु मैदानमा हुनुपर्ने बताए । ‘सबै खेल राम्रो भइरहेको छ । सुरुको सिजनमै बाहिरका ठूला खेलाडीहरूले खेलिरहेका छन्,’ उनले भने, ‘एनपीएल ठूलो प्रतियोगिता बनेको छ । यस्तै प्रतियोगिता अब सबै प्रदेशमा गर्न जरुरी छ ।’
एनपीएलमा बालबालिकाको समेत आकर्षण बढ्दो छ । परिवारसँग क्रिकेट हेर्न आएका सुदूरपश्चिम कैलालीका ११ वर्षीय कर्सिव धमला र ८ वर्षीय प्रियान्स भट्टराई आफ्नो टिमको खेल हेर्न निकै उत्साहित थिए । कर्सिवले भने, ‘म सुदूरपश्चिमको सपोर्टर हो । मंगलबार सुदूरपश्चिमको म्याच नभए पनि अरू टिमको खेल हेर्न आएको हुँ ।’ उनलाई क्रिकेटको राम्रो ज्ञान छ । लुम्बिनी र चितवनबीचको खेल हेरेका उनी भन्छन्, ‘क्रिकेटमा कसले विकेट लियो, कसले कति रन बनायो, सबै बुझ्छु । लुम्बिनीको पावर पनि धेरै थियो । लुम्बिनीले राम्रो–राम्रो क्याच गर्यो ।’ प्रियान्सले पनि क्रिकेट राम्रो लाग्ने र लुम्बिनीले खेल जितेकोमा खुसी लागेको सुनाए ।
पोखरा एभेन्जर्सलाई समर्थन गर्न आएका रिसभ पाण्डे पनि कर्णालीसँगको खेल हेर्न उत्साहित देखिन्थे । ‘अहिलेसम्म पोखराको सबै म्याच हेरिरहेको छु । सुरुको दुई खेल हार्दा नरमाइलो लागेको थियो । तर राम्रो कमब्याक पनि गरेको छ,’ स्याङ्जा घर भएका उनी भन्छन् ।
खेल हेर्न आएका आकाश बम एनपीएलले एकदमै मज्जा दिइरहेको बताउँछन् । मुगु घर भएका उनी कर्णालीका समर्थक हुन् । उनीसँगै कर्णालीलाई समर्थन गर्न जुम्ला घर भई काठमाडौं बस्दै आएका आनन्द उपाध्याय भन्छन्, ‘पूरै जोसका साथ समर्थन गर्न आएको छु ।’ साथै चितवन र लुम्बिनीको खेल सकेर बाहिर निस्कँदै गरेकी निमिशा दाहालले भने एनपीएलमा भिन्न ठाउँका साथीहरूसँग चिनजान भएको बताइन् । ‘यो खेल एकदमै रमाइलो लागिरहेको छ,’ उनले भनिन्, ‘यसले विभिन्न ठाउँका साथीहरूसँग चिनजान गराएको छ ।’
यही मंसिर १५ मा सुरु भएको एनपीएल पुस ६ सम्म आयोजना हुनेछ । बुधबारसम्मको खेल सकिँदा सुदूरपश्चिम रोयल्स ८ अंकको साथ तालिकाको शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्सको ८ अंक भए पनि रनरेटका कारण दोस्रो स्थानमा छ । चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक भए पनि रनरेटका आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । काठमाडौं गुर्खाज ४ अंकका साथ पाँचौं स्थानमा छ । समान २ अंक भएका लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स रनरेटका आधारमा क्रमशः छैटौं, सातौं र आठौं स्थानमा छन् ।
