भैरहवामा सामूहिक खेलकुद महोत्सव सुरु

मंसिर २६, २०८१

माधव ढुंगाना

Group sports festival started in Bhairahawa

भैरहवा — भैरहवा र आसपास क्षेत्रका करिब १ हजार ३ सय विद्यार्थीलाई खेलका विभिन्न विधामा प्रतिस्पर्धा गराउँदै बुधबारदेखि यहाँ ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सुरु गरिएको छ । 

‘स्वास्थ्यका लागि खेलकुद, जीवनको लागि खेलकुद’ नाराका साथ सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा खेलकुद महोत्सव सञ्चालन भएको हो । यो महोत्सव २३ औं श्रृंखला हो ।

सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले विद्यार्थीहरुको शारीरिक, मानसिक विकासका लागि र उत्कृष्ट विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा अवसर उपलब्ध गराउनका लागि खेलकुद महोत्सवको आयोजना गरिएको बताए । आयोजकका अनुसार, खेलकुद महोत्सवमा सिद्धार्थनगर, ओमसतिया, मायादेवी, तिलोत्तमा र रोहिणी नगरपालिका र गाउँपालिकामा संचालित २० वटा विद्यालयका करिब १ हजार ३ सय विद्यार्थी सहभागी छन् । विद्यार्थी, अभिभावकलगायत गरी करिब १४ हजार दर्शकले खेलको अवलोकन गर्ने अनुमान छ ।

Group sports festival started in Bhairahawa

खेलमा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई कक्षागत रुपमा तीन समूहमा विभाजन गरिएको छ । जसमध्ये कक्षा १ देखि ३ सम्मलाई सवजुनियर, कक्षा ४ देखि ६ सम्मलाई जुनियर र ७ देखि १० सम्मलाई सिनियर तह छन् । उचाइको आधारमा सवजुनियर, तहमा ४ दशमलव ६ फिटसम्म, जुनियर तहसम्म ५ दशमलव ३ फीट र सिनियर तहमा १८ वर्ष उमेर नपुगेका विद्यार्थी खेलमा सहभागी हुन पाउने छन् । 

महोत्सवमा भलिबल र विभिन्न एथलेटिक्स खेल समावेश छन् । जसमा, ५० मिटरदेखि ८ सय मिटरसम्मको दौड प्रतियोगिता छन् । सर्टफुट, लंजम्प, रिले दौड प्रतियोगिता पनि समावेश छन् । खेलका सबै विधामा तीनवटै तहका छात्र र छात्राको टिमबाट प्रतिस्पर्धा गर्ने छन् ।

भैरहवास्थित कृषि क्याम्पसको खेल मैदानमा संचालित उक्त खेल महोत्सवको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले बुधबार उद्घाटन गरेका थिए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully