इलाम गोल्डकप : रेड स्टारसँग मछिन्द्र स्तब्ध

मंसिर २५, २०८१

लक्ष्मी गौतम

Elam Gold Cup: Machindra stunned by Red Star

पाँचथर — रेड स्टार क्लब झापाले दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । रेड स्टारले प्रतिस्पर्धी मछिन्द्र फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको हो ।

सुरुदेखि नै मछिन्द्रलाई दबावमा राखेको रेड स्टारका लागि आदित्य शाक्यले ३५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलको ८१ औं मिनेटमा रेड स्टारबाट नीरज कार्कीले गरेको गोल निर्णायक बन्यो । खेलमा रेड स्टारका आदित्य शाक्य प्लेयर अफ द म्याच घोषित भए । उनले ८ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

आयोजक रेडहर्स फुटबल क्लबले बुधबार चर्च ब्वाइज क्लबविरुद्ध खेल्नेछ । रेडहर्सले संकटा क्लब र चर्च ब्वाइजले त्रिभुवन आर्मी क्लबलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित पुरस्कार जित्नेछन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully