सूर्य नेपाल काठमाडौं ओपन गल्फ भोलिदेखि

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Surya Nepal Kathmandu Open Golf from tomorrow

काठमाडौँ — यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबार तिलगंगास्थित आरएनजीसीमा सुरु हुनेछ । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ३५ हजार रुपैयाँ राशि रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) का महासचिव दीपक आचार्यले जानकारी गराएका छन् ।

विजेताले १ लाख ५० हजार, दोस्रोले ८५ हजार र र तेस्रोले ६८ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । चौथोले ५५ हजार र पाँचौंले ४८ हजार पुरस्कार पाउनेछन् । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । उत्कृष्ट २१ प्रो गल्फर र प्रो–कट बनाउने एमेच्योरले अन्तिम दुई दिनका स्थान बनाउने छन् । कट बनाउने सबै प्रो गल्फरले नगद पुरस्कार पाउनेछन् ।

डिफेन्डिङ च्याम्पियन नीरज तामाङ, नेपाल नम्बर एक प्रो भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति दाबेदार गल्फर हुन् । पछिल्लो प्रतियोगिता विजेता एमेच्योर गल्फर राहुल विश्वकर्मा र एमेच्योरका नम्बर वान सद्भाव आचार्यले उनीहरूलाई चुनौती दिने छन् ।

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले प्रायोजक सूर्य नेपाललाई निरन्तर सहयोगप्रति धन्यवाद प्रतियोगितामा खेलाडीहरूको प्रभावशाली प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully