भियतनाममा नेपालले जित्यो तेक्वान्दोमा ८ पदक

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Nepal won 8 medals in Taekwondo in Vietnam

काठमाडौँ — नेपालका तेक्वान्दो खेलाडीले भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्णसहित ८ पदक जितेका छन् । त्यसमा १ रजत र ३ कांस्य पनि छ । निशा दर्नाल र जितबहादुर बोटले पुम्सेमा दोहोरो स्वर्ण पदक जितेका छन् ।

उनीहरूको जोडीले ३० वर्षमुनिको युगल पुम्सेमा स्वर्ण जितेको थियो । व्यक्तिगत महिला पुम्सेको ३० वर्षमुनि निशा र पुरुष ३० वर्षमुनि जितबहादुरले स्वर्ण जितेका हुन् । निशाले भियतनामका खेलाडीको स्कोर (६.९५५) उछिन्दै ७.७३५ स्कोर गरेर स्वर्ण जितिन् । जितले पनि ७.५७ स्कोर गरेका थिए । प्रतिद्वन्द्वी भियतनामीले ७.३४ स्कोर गरेर उनलाई कडा चुनौती दिएका थिए ।

प्रशिक्षक तथा टिम प्रमुख आयशा शाक्यका अनुसार १७ वर्षमुनिको जुनियर व्यक्तिगत पुम्सेमा रोजेन प्रजापतिले स्वर्ण जितेका छन् । उनले कोरियालीलाई उछिन्दै ७.२८५ स्कोर गरे । कोरियाली खेलाडीले ७.११५ स्कोर गरेका थिए ।

प्रेमबहादुर लिम्बूले ३० वर्षमुनि एकल पुम्सेमा रजत जितेका छन् । ३० वर्षमुनिको प्रतिस्पर्धामा उनी इन्डोनेसिया खेलाडी (७.५) भन्दा पछि परेका थिए । प्रेमले ७.२ स्कोर गरेका थिए । महिला ३० वर्षमुनि व्यक्तिगत पुम्सेमा अन्जना चौधरी र रमिला लामाले कांस्य तथा पुरुष ३० वर्षमुनि व्यक्तिगत पुम्सेमा अस्मिन राउतले कांस्य पदक जितेका छन् ।

Nepal won 8 medals in Taekwondo in Vietnamडिसेम्बर ६देखि ९ सम्म चलेको प्रतियोगितामा २९ देशका ७ सय ७१ खेलाडीले सहभागिता जनाएका थिए । त्यसअघि हङकङमा नोभेम्बर २९ देखि डिसेम्बर ४ सम्म भएको हङकङ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप २०२४ मा सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा निशा, अस्मिन, जित, प्रेम, रोजेनसहित आयशा शाक्य र बब्लू सिवाकोटीले पनि प्रतिस्पर्धा गरेका थिए ।

हङकङमा ७७ राष्ट्रका १७ सय २४ खेलाडीले सहभागिता जनाएका थिए । निशा ३० वर्षमुनि व्यक्तिगत पुम्सेको पहिलो चरणमा फिनल्यान्डकी खेलाडीलाई रोक्दै अघिल्लो चरण पुगेकी थिइन् ।  अर्को चरणमा विश्व वरीयताका नवौं स्थानमा रहेकी भारतीय खेलाडीसँग पराजित भइन् । ५० वर्षमुनिको युगल पुम्सेमा आयशा र बब्लूको जोडीले ट्युनिसिया अनुपस्थित हुँदा वाकओभर पाएको थियो । अर्को चरणमा उनीहरू इरानी खेलाडीसँग पराजित भए ।

टिम पुम्सेमा नेपाली टिम (जित, अस्मिन, प्रेम) चाइनिज ताइपेईसँ पराजित भएको थियो । अन्तिम १६ को प्रतिस्पर्धामा नेपालले ७९०० स्कोर गर्दा ताइपेईले ८००० स्कोर जोडेको थियो । निशा र प्रेमको जोडी इटालियन जोडीसँग पछाडि पर्दा आयशा ४० वर्षमुनि व्यक्तिगत पुम्सेको अन्तिम १६ मा क्यानडाकी खेलाडीसँग पछि परिन् ।

कान्तिपुर

Link copied successfully