प्रिन्स र रसिलालाई उपाधि

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Title to Prince and Rasila

काठमाडौँ — एपीएफका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जनले शनिबार तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दुवैले उपाधिमा ह्याट्रिक जित हासिल गरेका छन् ।

पुरुष सिंगल्सको फाइनलमा प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–८, २१–९ ले पराजित गर्दै उपाधिमाथि ह्याट्रिक गरेका छन् । एपीएफका देवराज राना र क्षितिज खनाल तेस्रो भए । 

महिला सिंगल्सको फाइनलमा शीर्ष वरीयताकी रसिला महर्जनले उपाधि रक्षा गरेकी छन् । उनले आफ्नै क्लबकी अमिता गिरीलाई २१–७, २१–११ ले हराइन् । रसिलाको पनि ललितपुर मेयर कपमा लगातार तेस्रो उपाधि हो । आर्मीका रिहाना शेरचन र शेष्ना श्रीपाली तेस्रो भए ।

यू–१७ उमेर समूहतर्फ पुरुषमा एपीएफका कविर केसी च्याम्पियन भए । उनले आर्मीका सुविन श्रेष्ठलाई २१–९, २१–१३ ले हराए । ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डंगोल र कैलालीका शिशिर राना संयुक्त तेस्रो भए । महिलातर्फ आर्मीकी रिहाना शेरचन च्याम्पियन भइन् । उनले एपीएफकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१२ ले हराइन् । एपीएफका प्रियंशा श्रेष्ठ र टिशारानी शाक्य तेस्रो भए । 

पुरुष (शीर्ष २० वरीयताबाहेक) डबल्सतर्फ आर्मीका विधान अधिकारी र पवन लिङ्थेपको जोडी च्याम्पियन भयो । उनीहरूले बालकुमारी रिमिक्स क्लबका सशिन डंगोल र सुमन शाक्यको जोडीलाई २१–१४, २१–१४ हराएर लगातार तेस्रोपल्ट जिते । 

आर्मीका लक्ष्मण राना मगर र सुप्रिम पन्त तथा बालकुमारी रिमिक्सका दिप्रिसमुनि वज्राचार्य र रमन महर्जनको जोडी संयुक्त तेस्रो भए । मास्टर्स ४५ वर्षमाथिको युगलतर्फ सहआयोजक बालकुमारी रिमिक्स क्लबका शान्ता डंगोल र कृष्ण श्रेष्ठको जोडीले स्पोर्ट्स हबका सानबहादुर साावा र लाक्पा शेर्पाको जोडीलाई १०–२१, २३–२१, २१–१६ ले पराजित गर्दै उपाधि जित्यो । 

पुरुष र महिला दुवैको एकल तथा युगल इभेन्टका विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यू–१७ का विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाए । मास्टर युगलका विजेता जोडीले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुने जोडीले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।

कान्तिपुर

Link copied successfully