काठमाडौँ — ओमा इमिरेट्सको प्रस्तुति रहेको इन्टरनेसनल आमन्त्रण गल्फ सिरिजमा नवाङ पासाङ शेर्पा र दावा सोनम शेर्पा चम्किएका छन् । नवाङ र दावा आ–आफ्नो ह्यान्डिक्यापमा विजयी बन्दै जनवरीमा दुबईमा हुने प्रतियोगितालाई छनोट छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार नवाङले १३ र त्योभन्दा माथिको ह्यान्डिक्यापमा ४२ स्कोर गरी उपाधि जिते । १२ ह्यान्डिक्यापमा दावाले आफ्नो उत्कृष्ट स्किल देखाउँदै ४१ स्कोरसहित उपाधि उचालेका हुन् । उनीहरूसँगै पवन विष्टले पनि दुबईमा खेल्नेछन् । चिपिङ प्रतिस्पर्धामा पवन विजेता बने ।
दुवै विधामा उच्च प्रतिस्पर्धा देखियो । १३ र सोभन्दा माथिको ह्यान्डिक्यापमा फुर्साङ लामा ३७ अंकसहित दोस्रो र आरती राणा ३६ अंकसहित तेस्रो भए । १२ मुनिको ह्यान्डिक्यापमा गौरव शाह ३६ अंकसहित दोस्रो र जिग्मे डङ्स्टेटसाङ ३४ अंकसहित तेस्रो भए । सोनम नोर्बु लामा क्लोजेस्ट टु द पिनतर्फ विजेता बने भने प्रवीण शाही ठकुरीले लङ्गेस्ट ड्राइभको उपाधि जिते ।
१० औं होलको बिट द प्रो प्रतिस्पर्धामा १९ खेलाडीमध्ये सुनिल कार्की विजेता बने । स्टेबल फर्म्याटको ३/४ ह्यान्डिक्याप आधारमा खेलाइएको प्रतियोगितामा कुल ९८ गल्फरले प्रतिस्पर्धा गरेका थिए । ओमा इमिरेट्सले नेपाली गल्फको विकासमा टेवा दिने हेतुले प्रतियोगिता गरेको हो ।
