काठमाडौँ — चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम तीनै खेल जितेर एनपीएलको अंक तालिकामा दोस्रो स्थानमा छ । चितवनले ३ खेल जितेको छ । टोली पछिल्लो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो । चितवनले भेट्रान शरद भेषावकरको स्थानमा रन्जीत कुमार र लुक बेन्केस्टेनको स्थानमा हसन इसाखिललाई प्लेयिङ ११ मा खेलाएको छ ।
सुदूरपश्चिम रोयल्सले वसन्त खत्रीको स्थानमा दिलप्रित सिंहलाई खेलाएको छ । रोहन मुस्ताफा यूएई फर्किएपछि सुदूरपश्चिमले अघिल्ला खेल तीन विदेशी खेलाडीमै खेलेको थियो । एनपीएलमा एउटा टोलीले चार विदेशी खेलाडीलाई प्लेयिङ ११ मा खेलाउन पाउने प्रावधान छ ।
