ब्याडमिन्टनमा प्रफुल र रसिलालाई सफलता 

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Success to Praful and Rasila in Badminton

काठमाडौँ — आर्मीका प्रफुृल महर्जन ललितपुरमा भइरहेको तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

पुरुष एकलतर्फ प्रफुलले युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीलाई २१–७, २१–७ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । उनले अब एपीएफका देवराज रानासँग प्रतिस्पर्धा गर्नेछन् । देवराजले आर्मीका सुप्रिम पन्तलाई २१–१८, २१–११ ले हराए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघले बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा गरिरहेको प्रतियोगितामा एपीएफका प्रिन्स दाहालले आर्मीका डेभिड थापामगरलाई २१–१४, २१–९ ले पराजित हराएर सेमिफाइनल तय गरे । उनले आफ्नै क्लबका क्षितिज खनालविरुद्ध खेल्नेछन् । क्षितिजले आर्मीका सुविन श्रेष्ठलाई २१–१०, २१–४ ले पराजित गरेका थिए ।

महिला एकलतर्फ आर्मीकी रसिला महर्जन सेमिफाइनल पुगिन् । रसिलाले एपीएफकी स्वर्लिन श्रेष्ठलाई २१–६, २१–९ ले हराइन् । रसिलाले फाइनल पुग्नका लागि आफ्नै क्लबकी रिहाना शेरचनसँग खेल्नेछिन् । रिहानाले पुलिसकी सुष्मा श्रेष्ठलाई २२–२०, १२–२१, २७–२५ ले पन्छाइन् ।

यू–१७ को प्रतिस्पर्धामा आर्मीकी सेस्ना श्रीपालीले बालकुमारीकी श्रेया वज्राचार्यलाई २१–९, २१–१३ ले पराजित हराइन् । उनले सेमिफाइनलमा आफ्नै क्लबकी अमिता गिरीसँगको भेट पक्का गरिन् । अमिताले आफ्नै क्लबकी विष्णा विष्टलाई २१–१२, २१–७ ले हराएर सेमिफाइनल तय गरिन् ।

यू–१७ पुरुष एकलमा पुलिसका कविर केसीले सेनाका सुदेश राजकोटीलाई २१–१०, २१–१५ र कठायत ब्याडमिन्टन एकेडेमीका अमन डंगोलले सेनाका सौर्य महर्जनलाई २१–१६, २१–१६ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

आर्मीका सुविन श्रेष्ठले सीतापाखा ब्याडमिन्टन क्लबका इमा तामाङलाई २१–१३, २१–१६ ले र कैलालीका शिशिर रानाले सेनाका दीप थिङलाई २१–१४, १५–२१, २१–१२ ले हराएर अन्तिम चारमा स्थान बनाए ।

मास्टर्स ४५ वर्षमाथि युगलतर्फ कास्कीका प्रेमकुमार गुरुङ र राजेन्द्र वाग्ले, बालकुमारीका शान्त डंगोल र कृष्ण श्रेष्ठ, कास्कीका हिमाल गुरुङ र शम्भु श्रेष्ठ तथा स्पोर्टस हबका सनबहादुर साँवा र लाक्पा शेर्पाको जोडी सेमिफाइनल पुगेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully