नेसनल ‘बी’ बुद्धिचालमा पुरुषोत्तम विजेता

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Purushottam Winner in National 'B' Intelligence

काठमाडौँ — नेसनल ‘बी’ बुद्धिचाल प्रतियोगितामा उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल विजेता भएका छन् । भक्तपुरको बाचामरीमा भएको ९ चरणको खेलमा काठमाडौंका युवा पुरुषोत्तमले ६.५ अंक जोड्दै उपाधि जिते ।

उनले ४ जित र ५ बराबरी नतिजा निकालेका थिए । २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको छनोटका लागि आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष फुयाल दोस्रो र रौतहटका एफएम रुपेश जैसवाल तेस्रो भएका छन् ।

नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा चौथोदेखि नवौं स्थान प्राप्त गर्ने खेलाडी समान ६ अंक जोडेर राष्ट्रिय प्रतियोगितालाई छनोट हुन सफल भए । भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सीएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारी छनोट भए ।

महिलातर्फ अघिल्लो दिन नै काठमाडौंकी विनीता कपाली च्याम्पियन भएकी थिइन् ।

खेलाडीलाई पुरस्कार वितरण कार्यक्रममा महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता पुरुष र महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने प्रतिबद्धता जनाए ।

कान्तिपुर

Link copied successfully