काठमाडौँ — लालीगुराँस नेसनल एकेडेमी तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा १९ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ ।
लालीगुराँसले पहिलो दिन ५, दोस्रो दिन ७ र अन्तिम दिन ७ स्वर्ण जितेको थियो । टोलीले थप ४ रजत र १ कांस्य पनि जित्यो ।
तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि हाइस्कुल ५ स्वर्ण, १० रजत र ५ कांस्यसहित दोस्रो भयो । तेस्रो भएको कौशलले १ स्वर्ण, २ रजत र ५ कांस्य पायो ।
विभिन्न १४ विद्यालयको सहभागिता रहेको एथलेटिक्समा बाँकी १ स्वर्ण सिर्जना ज्ञानसागरले जित्यो ज्ञानसागरले १ रजत र ३ कांस्य पनि थप्यो । २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
हिमरश्मि र ल्यान्डमार्क फाइनलमा
हिमरश्मि र ल्यान्डमार्क एकेडेमी तेस्रो मेयर रनिङ सिल्ड खेलकुदको छात्रा बास्केटबलमा फाइनल पुगेका छन् ।
सेमिफाइनलमा हिमरश्मिले लालीगुराँसलाई उसकै कोर्टमा १९–१३ स्कोरले पराजित गर्यो । हिमश्मिका सिर्जना तामाङले ६ स्कोर गरिन् । साजन खत्रीको ७ स्कोरमा ल्यान्डमार्कले मानसिंहलाई १८–१५ ले हरायो ।
जुनियर छात्रमा लालीगुराँस र एन्जल्स हार्ट उपाधिलाई भिड्नेछन् । लालीगुराँसले जीवनज्योतिलाई २८–१५ स्कोरले हरायो । लालीगुराँसका सरगम गुरुङले १० स्कोर गरे । एन्जल्स हार्टले हिमरश्मिलाई २१–१६ ले हराउँदा सौरभ श्रेष्ठले ८ स्कोर जोडे ।
