काठमाडौँ — कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लो स्कोरिङ खेलमा शनिबार विराटनगरलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा जितका लागि विराटनगरलाई १५ रनको आवश्यकता थियो । तर नन्दन यादवले ७ रनमात्र दिएर कर्णालीलाई जित दिलाए । नन्दनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । देव्रेहाते स्पिनर विपिन शर्माले ४ ओभरमा २० रन खर्चेर २ तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले १–१ विकेट लिए ।
कर्णालीबाट निकोलस कृतनले सर्वाधिक ४० रन बनाए । क्यानडाका कप्तान कृतनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३९ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । ओपनर लोकेश बमले ९ बल खेली १ चौका र २ छक्काका साथ १९ र दीपक बोहराले १३ बलमा १ छक्काका साथ १८ रन बनाए ।
मार्टिन गप्टिल ४, अकिब इल्यास ८, नरेन भट्ट ७, बसिर अहमद ८, क्रिस सोल ५ रनमा आउट भएका थिए । प्रतिश जीसी ७ बलमा ७ र सन्दीप लामिछाने ५ बलमा ६ रन बनाई अविजित रहे ।
यसअघि प्रतिशले सनसनी अन्तिम ओभर फालेपछि विराटनगरले कर्णालीलाई १ सय ३३ रनमा अलआउट गरेको थियो । प्रतिशले अन्तिम ओभरमा बिना कुनै रन खर्ची ३ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको कर्णाली २० ओभर खेली अलआउट भएको थियो ।
प्रतिशले अन्तिम ओभरमा जिसन मक्सुदलाई २ तथा नन्दन र विपिनलाई शून्यमा आउट गरेका थिए भने युनिस रन आउट भएका थिए । प्रतिश भारतीय स्टार ब्याटर शिखर धवनलाई एनपीएलमा आउट गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका थिए । उनले धवनलाई ५ रनमा बोल्ड गरेका थिए ।
प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलिरहेका धवनले काठमान्डु गुर्खाजविरुद्ध अविजित अर्धशतक बनाएका थिए भने अन्य दुई खेलमा विदेशी खेलाडीबाट आउट भएका थिए । कर्णालीका अर्का विदेशी खेलाडी चाडविक वाल्टनलाई १ रनमा सोलले आउट गरेपछि बोसिस्टो र देव खनालले तेस्रो विकेटका लागि ७९ बलमा १ सय २ रनको साझेदारी गरी कर्णालीको स्थिति सुधारेका थिए । कर्णाली यहाँसम्म पुग्नुमा विराटनगर आफैं दोषी थियो । प्रतिशको बलमा सुवास भण्डारीले देवको क्याच छाड्न पुगेका थिए, जतिखेर देव ७ बलमा २ रन बनाएर खेलिरहेका थिए ।
देवले ४८ बलमा ५३ रन र बोसिस्टोले ४९ बलमा ६६ रन बनाए । देवले ४ चौका र २ छक्का तथा १९ औं ओभरमा आउट भएका बोसिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे । बसिरले लगातार बलमा देव र गुलशन झा (०) लाई आउट गरेका थिए । इल्यासले अर्जुन घर्तीलाई १ रनमा आउट गरे । कर्णालीले अन्तिममा ५ विकेट कुनै रन नजोडी गुमाएको थियो ।
