विनिताले जितिन् महिला चेस उपाधि  

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Vinita won the women's chess title

काठमाडौँ — भक्तपुरको बाचमारीमा भइरहेको नेसनल ‘बी’ चेस च्याम्पियनसिपको महिलातर्फ काठमाडौंकी विनिता कपाली च्याम्पियन भएकी छन् ।

विनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा स्थान पक्का गरेकी छन् । उनले अन्तिम सातौं चरणमा धनुषाकी शान्ति धिमाललाई हराइन् । उनले ६.५ अंक जोडेकी छन्  ।

चितवनकी लक्ष्मी काडेल ५.५ अंक बनाएर दोस्रो भइन् । उनले पनि राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गरिन् । लक्ष्मीले काठमाडौंकी एन्जल महर्जनसाग बराबरी खेलेकी थिइन् । ४–४ अंक जोडेर संयुक्त तेस्रो स्थान ओगट्दै छनोट हुनेमा नेपालगन्जकी इशा गिरी, धनुषाकी शान्ति धिमाल, काठमाडौकी दानिशा पुरी, पर्साकी सुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र एन्जल महर्जन छन् ।

काठमाडौंकी रिया श्रेष्ठ ३.५ अंक जोडेर नवौंमा रहिन् । रियासागै ९ खेलाडीले अघिल्लो राष्ट्रिय प्रतियोगिताका शीर्ष तीन खेलाडी काठमाडौंकी सिन्दिरा जोशी, झापाकी कृतिसरा अधिकारी र मकवानपुरकी पूजा भण्डारीसँग प्रतिस्पर्धामा गर्नेछन् ।

पुरुषतर्फ आठौं चरणपछि पुरुषतर्फ काठमाडौंका पुरुषोत्तम सिलवाल, दोलखाका आशिष फुयाल र रौतहटका एफएम रुपेश जैसवाल ६–६ अंक जोडेर अगाडि रहेका छन् । 

काठमाडौंका धिरेन राई, ललितपुरका सुरोज महर्जन, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, मकवानपुरका सीएम मिलन लामा, भक्तपुरका निकेन कुसाथा ५.५ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा छन् ।

काठमाडौंका सुरज सिंह, धनुषाका सुशील चौधरी, काठमाडौंका विनय थापा, सीएम नवीन तण्डुकार र प्रेमकृष्ण महर्जन ५–५ अंक बटुल्दै संयुक्त तेस्रो स्थानमा छन् ।

कान्तिपुर

Link copied successfully