उच्चस्तरीय संयन्त्र बनाउन राष्ट्रिय संघहरूको माग

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Demand of national associations to create high level mechanism

काठमाडौँ — कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनले दसौं राष्ट्रिय खेलकुदका लागि सम्बन्धित संघहरूसँग छलफल र सुझाव लिएर निर्देशिका पारित गर्न माग गरेको छ ।

एनओसीमा आबद्ध खेल संघहरू मिलेर बनेको कन्फेडेरेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै दसौं राष्ट्रिय खेलकुदलाई आर्थिक अपचलन र भ्रष्टाचाररहित बनाउन एक उच्चस्तरीय संयन्त्रको व्यवस्था गर्न माग गरेको छ । विगतका प्रतियोगितालाई मनन गर्दै संयन्त्र बनाइँदा दसौं राष्ट्रियमा समावेश खेल संघहरूको संलग्नता हुनुपर्ने जिकिर छ ।

कन्फेडेरेसनले मंसिर १३ गते युवा तथा खेलकुदमन्त्रीलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधनका लागि बनेको विधेयक, १० औं राष्ट्रिय खेलकुदको मिति निर्धारण र राष्ट्रिय खेलकुद परिषद्मा पदाधिकारी र सदस्य नियुक्तिका बारेमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

पत्रकार सम्मेलनमा कन्फेडेरेसनका अध्यक्ष प्रकाश शम्शेर राणाले परिषद्मा राष्ट्रिय खेल संघहरूको प्रतिनिधि हुने सदस्य पदमा व्यक्तिगत पहुँचका आधारमा नभई संघहरूको संस्थागत सिफारिसमा सदस्य नियुक्त गरिनुपर्ने संस्थाको माग रहेको बताए । उनले दसौं राष्ट्रिय खेलकुदमा खेलाडीलाई उपलब्ध गराउने पोसाक, खेल सामग्रीको गुणस्तर परीक्षण गरिनुपर्ने बताउँदै खेलाडीको खानपान र आवासको उचित व्यवस्था हुनुपर्ने बताए ।

भौगोगिक र प्राविधिक दृष्टिकोणले कर्णाली प्रदेशको खेलस्थलको उचाइसँग अन्य प्रदेशको भूबनोट र वातावरण फरक हुने भएकाले त्यस्ता प्रदेशका खेलाडीलाई कम्तीमा ३–४ दिनअघि नै खेलस्थलमा पुर्‍याउनुपर्ने कन्फेरेसेनको माग छ ।

कान्तिपुर

Link copied successfully