पोखरा — नेपालका खेलाडी आरभसम्राट हाडा र सुनीरा थापा बिहीबार पोखरा आईटीएफ जे–३० जुनियर टेनिस प्रतियोगितामा सिंगल्सतर्फ सेमिफाइनल पुगेका छन् ।
पोखरा रंगशाला टेनिस कम्प्लेक्समा सर्किट १ को प्रतियोगितामा शीर्ष वरीयताप्राप्त खेलाडीहरू भने आश्चर्यजनक रूपमा पराजित भएका छन् । ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयताप्राप्त आरभसम्राटले दोस्रो वरीयताप्राप्त भारतका आदित्य मोरलाई ३–६, ६–४, ६–३ ले पराजित गरे ।
जुनियर विश्व शीर्ष वरीयताका जापानका रिकु हिगासीको यात्रा सकिएको छ । उनी अस्ट्रेलियाका प्रतीक नवीनसँग ६–३, ६–३ को सोझो सेटमा पराजित भए । आठौं वरीयताका चीनका हैनुओ गुआले भारतका सौर्य सामालालाई ७–५, ६–२ ले तथा सातौं वरीयताप्राप्त भारतका आश्रव्य मेहराले चौंथो वरीयताप्राप्त ओजस मेहलावतलाई ४–६, ६–२, ६–० ले पराजित गरे ।
गर्ल्स सिंगल्सतर्फ छैटौं वरीयताप्राप्त सुनीराले तेस्रो वरीयताप्राप्त भारतकी अरजान खोराकिवालालाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमिफाइनल तय गरेकी छन् । शीर्ष वरीयताप्राप्त भारतका महिका खन्नाले आफ्नै देशकी रीत अरोरालाई टाइब्रेकरमा ७–६ (५), ६–७ (७), ६–४ ले पराजित गरिन् ।
