काठमाडौँ — पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभर खेलि ७ विकेट गुमाई १ सय ३८ रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा म्याट क्रिच्लेले सर्वाधिक ३५ रन बनाए । उनले ३० बल खेली ३ चौका र १ छक्का प्रहार गरे । माइकल लिस्कले १३ बल खेलि ३ छक्कासहित २५ रन बनाए । उनलाई अन्तिम ओभरमा किशोर महतोले आउट गरे । किशोरले अन्तिम ओभरमा ३ रनमात्र दिएका थिए ।
ओपनरद्वय दिनेश खरेल १० र एन्ड्रयु गाउसले २० रन बनाए । गाउसले १६ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कप्तान कुशल भुर्तेलले फेरि निराश पारे । उनलाई ललित राजवंशीले स्टम्प आउट गरे । दीलिप नाथ ११ र रामोन रिफर १७ रनमा आउट भए । ललितले ४ ओभरमा ३१ रन खर्चेर ३ र जिम्मी निशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । जनकपुर पहिलो दुई खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ ।
