काठमाडौँ — भक्तपुरमा भइरहेको नेसनल ‘बी’ चेस च्याम्पियनसिपमा बुधबार चौथो चरणको खेल सकिँदा चार खेलाडीले अग्रता लिएका छन् ।
प्रतियोगितामा मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष फुयाल र रौतहटका एफएम रुपेश जैसवाल अपराजित रहँदै ३.५ अंक जोडेर अगाडि छन्।
तेस्रो र चौथो चरणमा युवा खेलाडी पुरुषोत्तमले मिलन लामामाथि जित पाए भने रिजेन्द्रसँग बराबरी खेलेका थिए । रिजेन्द्रले त्यसअघि धिरेन राईलाई हराए । आशिषले रुपेशसँग बराबरी खेलेर प्रकाशचन्द्र नेपाललाई पन्छाए । रुपेशले प्रतिश खनाललाई हराएर आशिषसँग बराबरी खेले ।
मकवानपुरका सीएम मिलन लामा, काठमाडौंका सुरज सिंह, भक्तपुरका राजेश कक्षपति, निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन र सिरहाका सुशील चौधरीले ३–३ अंक जोड्दै दोस्रो स्थानमा छन् ।
माघमा हुने २५ औं राष्ट्रिय चेस प्रतियोगिताका लागि यस प्रतियोगिताबाट खेलाडी छनोट हुनेछन् ।
महिलातर्फ कीर्तिपुरकी विनिता कपाली र नेपालगन्जकी इशा गिरीले अपराजित हुँदै ३.५ अंक जोडेर अग्रता बनाएका छन् ।
विनिताले एञ्जेल महर्जन, लक्ष्मी कँडेल, पुनम प्रसाईंविरुद्ध पाइन् भने इशासँग बराबरी खेलेकी छन् । उनले पाँचौं चरणमा ओलम्पियाड रिया श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् । इशाले श्रेषा दुवाल, निहाना श्रेष्ठ, नयुमा मगरलाई हराइन् भने बिनितासँग बराबरी खेलिन् । उनले अब चितवनकी लक्ष्मी कँडेलसँग खेल खेल्नेछन् ।
अनुभवी लक्ष्मी २.५ अंक बोकेर दोस्रो स्थानमा रहिन् । उनीसँगै झापाकी पुनम प्रसाईं, दक्षिणकालीका एञ्जल महर्जन र रियाले समान अंकसहित संयुक्त दोस्रो स्थानमा छन् ।
