काठमाडौँ — नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले बंगलादेशको ढाकामा सम्पन्न जेन–जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा भाग लिएका नेपाली खेलाडीलाई सम्मान गरेको छ ।
६१ केजी तौल समूहका विजेता अनिलकुमार पुनमगर, ५९ केजीका प्रतिस्पर्धी पुरन राई, ६३ केजी तौलका प्रतिस्पर्धी महेन्द्रबहादुर चन्दसहित प्रशिक्षक प्रेम पाउजुलाई नगदसहित सम्मान गरिएको थियो । वर्ल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्स पूरा गरी पहिलो प्रोफेसनल रेफ्री/जज बनेका राजन प्रजापतिलाई पनि सम्मान गरियो । प्रजापतिले उक्त च्यापियनसिपमा पनि रेफ्रीको भूमिका निभाएका थिए ।
सिल्क ट्रान्सपोर्टका सीईओ रमेश शेर्पाले व्यावसायिक बक्सिङ खेलाडी र खेलकुद विकासका निम्ति विभिन्न तबरले सहयोग गर्दै आएको र प्रोफेसनल बक्सिङ कमिसनसँग सहकार्य गर्दै जाने बताए ।
