सातौं एनप्याब्सन खेलकुद सप्ताह यसै सातादेखि

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

The 7th NBA Sports Week starts this week

काठमाडौँ — एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौं एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि हुने भएको छ ।

खेलकुद सप्ताहमा विभिन्न ४ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक प्रेमकुमार भुजेलले बुधबार पत्रकार सम्मेलनमा बताए । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र/छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।

चारै खेलमा संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष नीराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्वउपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजक तोकिएको छ ।

फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी र तानडोरी भीमसेनगोलास्थित आदर्श मावि खेलाइने छ ।

खेलकुद सप्ताहमा १ सय २० भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकका अध्यक्ष अमृत खड्काले बताए । उद्घाटनको मार्चपासमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई नगद पुरस्कार दिइने छ । खेलकुद सप्ताह मंसिर २९ सम्म चल्नेछ ।

कान्तिपुर

Link copied successfully