काठमाडौँ — ३०औं अन्तरमाध्यमिक विद्यालय आईजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता-२०८१ अन्तर्गत दोस्रो दिनको खेलमा डीएभी जावलाखेल र एनपीएस दाङ विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा डीएभी स्कुल जावलाखेलले नेपाल पुलिस स्कुल सामाखुसीलाई २–० गोल अन्तरले पराजित गर्यो । डीएभीका लागि खेलको ८औं मिनेटमा अनुज थापा र ३१औं मिनेटमा आर्नब मान क्षेत्रीले गोल गरे । म्यान अफ दि म्याच विजयी टिमका अनुज थापा घोषित भए ।
दोस्रो खेलमा पहिलो पटक प्रतियोगितामा भाग लिइरहेको नेपाल पुलिस स्कुल दाङले ग्रेसल्याण्ड स्कुल साँगालाई ३–० गोल अन्तरले हरायो । एकतर्फी खेलमा विजयी टिमको लागि खेलको तेस्रो मिनेटमै नविन ओलीले खाता खोले । खेलको २८औं र ५७ औं मिनेटमा म्यान अफ दि म्याच देबबहादुर ओलीले गोल गरी अग्रता तेब्बर पारे ।
तेस्रो तथा अन्तिम खेल गत संस्करणको विजेता सैनिक आवासीय महाविद्यालय भक्तपुर र बालउद्धार मावि बुढानिलकण्ठले गोलरहित बराबरी खेलेका छन् । निकै रोमान्चक खेलमा दुवै टिमबाट गोल गर्ने धेरै अवसरहरु सिर्जना भए तापनि गोल हुन नसक्दा उपाधिको दावेदार टिम मानिएको सैनिक स्कुल १–१ अंक बाँड्न बाध्य रहृयो । उत्कृष्ट खेल कौशन प्रदर्शन गरेको बालउद्धार माविका खेलाडी किस्मत राई म्यान अफ दि म्याच घोषित भए ।
नेपाल पुलिस स्कुल साँगाको आयोजनामा मंगलबारबाट सुरु भएको आईजीपी फुटबल रनिङ ट्रफी प्रतियोगितामा बिहीबार तीन खेल हुँदैछन् । पहिलो खेल नेपाल पुलिस स्कुल धरानविरुद्ध बिकटेश्वर स्कुल, दोस्रो खेलमा नाइटिङगेल स्कुलले मनकामना स्कुलसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा आयोजकको टिम नेपाल पुलिस स्कुल (ब्लु) र ल्याब स्कुल आमनेसामने हुनेछन् ।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता पुसको पहिलो सातासम्म चल्नेछ । प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार पाउनेछन् । साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
