एनओसीमा चार कार्यकाल नेतृत्व गर्न पाउने

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Can lead four terms in NOC

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनावी साधारणसभा पुस १३ मा हुने भएको छ । कमिटीको मंगलबार बसेको विशेष साधारणसभाले नेतृत्वसम्बन्धी कार्यकाललाई संशोधन पनि गरेको छ ।

दुईतिहाइभन्दा बढी सदस्यले विधानमा रहेको अध्यक्ष र महासचिवको कार्यकाल अवधि र अन्य बुँदा संशोधन गरेको हो ।

अब कमिटीको अध्यक्ष र महासचिवले चार कार्यकालका लागि अध्यक्ष र महासचिव बन्न पाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सल्लाह र निर्देशनअनुसार चार कार्यकालको निर्णय गरिएको हो ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आईओसीको चार्टर अनुसार नै संशोधन गरिएको प्रतिक्रिया दिएका छन् । कमिटीले विधान संशोधनको अनुमतिका लागि आईओसीमा पत्र पठाएको थियो । 

यससँगै कमिटी अब औपचारिक रूपमा चुनावी प्रक्रियामा प्रवेश गरेको छ । डिसेम्बरभित्र कमिटीको चुनाव गरिसक्नुपर्ने निर्देशन छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा भएको साधारणसभामा २७ मध्ये २६ सदस्य  उपस्थित थिए । त्यसमा २० सदस्यले संशोधनको पक्षमा मतदान गरे भने एक सदस्य तटस्थ रहे ।

एक सदस्यले विपक्षमा मतदान गरे भने चार सदस्यले मतदानमा भाग लिएनन् । भाग नलिनेमा ट्रायथलन संघका नीलेन्द्रराज श्रेष्ठ, जिम्न्यास्टिकका ध्रुवबहादुर प्रधान, हक्कीका उमेशलाल श्रेष्ठ र फेन्सिङका सुनीललाल श्रेष्ठ छन् । भलिबलका मनोरञ्जन रमण शर्मा तटस्थ बसे भने फुटबलका दीर्घकुमार केसीले विपक्षमा मतदान गरे । 

विशेष साधारणसभाले कमिटीको कार्यसमिति उम्मेदवारीका लागि उमेरसम्बन्धी प्रावधान पनि संशोधन गरेको छ । त्यसअनुसार उम्मेदवारको उमेर हद ७० बाट ७५ वर्ष पुर्‍याइएको छ । कमिटीको सदस्य संघको राष्ट्रिय संघ आबद्धता र सदस्यता कार्यविधि २०८१ पनि पारित गरेको छ ।

कान्तिपुर

Link copied successfully