२५ औं आदर्श कप फुटबल मंसिर २२ बाट

मंसिर १९, २०८१

दीपक परियार

25th Adarsh ​​Cup Football from 22nd November

पोखरा — आदर्श युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको लेखनाथ रंगशालामा मंसिर २२ देखि २९ सम्म हुने २५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । 

क्लबले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पदम गुरुङले प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहने जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, आर्मी र एपीएफका प्रदेशस्तरीय टोलीसहित आयोजक आदर्श युवा क्लब, एन्फा तनहुँ, कास्की ११, एन्फा स्याङ्जा र एन्फा गोरखा प्रतियोगितामा सहभागी हुने छन् । शनिबार आयोजक टिम र एन्फा तनहुँबीच उद्घाटन खेल हुने छ । 

प्रतियोगितामा उपाधि विजेताले ४ लाख २५ हजार ५ सय २५ र उपविजेताले २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेन्स, गोलरक्षक र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रतियोगितालाई शौर्य सिमेन्ट इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा टिकट काट्ने दर्शकले एनसेल नेटवर्कको एउटा सिम कार्ड निःशुल्क प्राप्त गर्ने छन् । 

प्रतियोगितामा ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, कर्मचारीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully