तार्केश्वर मेयर रनिङ सिल्ड सुरु

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Tarkeshwar Mayor Running Shield launched

काठमाडौँ — तार्केश्वर नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ सिल्ड खेलकुद मंगलबार सुरु भएको छ ।

‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने नारासाथ सुरु प्रतियोगिताको उद्घाटनअघि धर्मस्थलीस्थित आयोजक नगरपालिकाको कार्यालयबाट पिपलडाँडा टुसाल खेल मैदानसम्म र्‍याली निकालिएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सहभागी विद्यालयका टोलीले मार्चपास गरे भने कपन टाइगरको टोलीले आकर्षक तेक्वान्दो प्रस्तुति दिएको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरे ।

पहिलो दिन छात्र फुटबलतर्फ सिर्जना ज्ञानसागरले नर्थ भ्यालीलाई २–० गोलले हरायो । कालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोलले पन्छायो । छात्रमा ३६ र छात्रामा १९ टिम सहभागी छन् ।

विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागी छन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान पाउनेछन् । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि विजेता भएको थियो ।

कान्तिपुर

Link copied successfully