धनकुटा — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धनकुटाको आयोजनामा पाख्रीबासमा आयोजित जिल्लास्तरीय फुटबल प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय सिधुवा विजेता बनेको छ ।
प्रतियोगिताको फाइनलमा भेट भएको सितलादेवी आवासीय मावि पाख्रीबाससँग ट्राइब्रेकरमा ३–२ गोल अन्तरमा सरस्वतीले जित हात पारेको हो । खेलको निर्धारित अवधिमा दुवै टिमले समान १/१ गोल गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । मध्यान्तरअघि सिलतलादेवीले पहिलो गोल गरेको थियो । उक्त गोल पेनाल्टी सुटबाट गरिएको थियो । दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पहिलो हाफमा १–० ले अघि रहेको सितलादेवीलाई सरस्वतीले मध्यान्तरपछि पुनः पेनाल्टीबाटै जवाफी गोल फर्काउन सफल भयो । ट्राइब्रेकरमा सरस्वतीका गोलरक्षक गौरव श्रेष्ठले सरस्वतीका खेलाडीको २ गोल बचाउ गरेर आफ्नो टिमलाई जित दिलाएका थिए ।
सितलादेवीलाई लागि सरस्वतीका खेडालीले प्रहार गरेको १ गोल बाहिरिन पुग्यो । तर, अरु गोल सिलतादेवीका किपर रोजन बस्नेतले बचाउ गर्न नसक्दा उपविजेतामा सीमित बन्न पुग्यो । जिल्लाका ११ विद्यालयको सहभागिता रहेको आयोजक प्याब्सनका अध्यक्ष दुर्गा लुइँटेलले बताए ।
खेलको संयोजन सितलादेवी माविले गरेको थियो । फाइनल खेलका विजेता तथा उपविजेता टिमलाई जिल्ला समन्वय समितिका संयोजक निरेन तामाङ, पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता नियमित क्यालेन्डरको सन्दर्भमा आयोजना गरिएको प्याब्सन जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले बताए । विजेता टिमले १५ हजार तथा उपविजेताले १० हजार नगद साथै दुवै टिमलाई ट्रफी वितरण गरिएको थियो । सहभागी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
यस्तै, प्रतियोगितामा विभिन्न विधागत पुरस्कारबाट खेलाडीहरु पुरस्कृत भए । यसअघि शिक्षक टिमबीचसमेत फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
