काठमाडौँ — नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा मंगलबार नेसनल ‘बी’ चेस च्याम्पियनसिप प्रतियोगिता भक्तपुरमा सुरु भएको छ ।
सूर्य विनायक नगरपालिकाका मेयर बासुदेव थापाले उद्घाटन गरेको प्रतियोगितामा शीर्ष ४० पुरुष र २० महिला खेलाडीले भाग लिएका छन् । मेयर थापाले भक्तपुरले बुद्धिचालको विकास र उन्नति गर्दै आइरहेका कारण सूर्य विनायक नगरपालिकाले लगानी गर्ने वातावरण बनेको बताए ।
नेसनल बी प्रतिस्पर्धामार्फत छनोट हुने ९ पुरुष र ९ महिला खेलाडीले नेपाल च्याम्पियनका शीर्ष तीन खेलाडीसँग राष्ट्रिय च्याम्पियनसिप खेल्ने छन् । २५ औं राष्ट्रिय र १० औं महिला राष्ट्रिय च्याम्पियनसिप माघ दोस्रो साता हुनेछ ।
महिला तर्फ पहिलो चरणमा ओलम्पियाड खेलाडी धनुषाकी शान्ति धिमालले झापाकी पुनम प्रसाईंसँग अप्रत्याशित हार बेहोरिन् । कीर्तिपुरकी विनिता कपाली, पर्साकी सुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, इशा गिरी नयुमा मगर र निहाना श्रेष्ठले १–१ अंक जोडेका छन् ।
पुरुषतर्फ मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष फुँयाल, बनेपाका राहुल चौप्रधान, सुसन आचार्य, धिरेन राई, ललितपुरका सानुराज वज्राचार्य, रौतहटका एफएम रुपेश जैसवाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौंडाका सीएम मिलन लामाले आफ्नो खेल जिते ।
भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सीएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाइ महर्जन, विनय थापा र प्रसित खनालले जित दर्ता गरेका छन् ।
