नेपाल यू–१९ समूह चरणबाटै बाहिर

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Nepal U-19 out of the group stage

काठमाडौँ — लगातार दोस्रो हारपछि नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।बंगलादेशले यूएईमा भइरहेको प्रतियोगितामा नेपाललाई ५ विकेटले पराजित गर्‍यो । नेपाल शुक्रबार पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

पहिलो दुई खेलमै हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले मंगलबार अफगानिस्तानसँग खेल्ने छ, तर त्यसले सेमिफाइनल पुग्ने सम्भावनाको समीकरणमा कुनै अर्थ राख्ने छ ।

अफगानिस्तानको हकमा पनि यही लागू हुनेछ । अफगानिस्तान आइतबार श्रीलंकासँग शारजहाँमा १ सय ३२ रनले पराजित भएको थियो । श्रीलंका र बंगलादेश पहिलो दुई खेल जित्दै समूह ‘बी’ बाट सेमिफाइनल पुगेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपाल यू–१९ केवल ४५.४ ओभर खेली १ सय ४१ रनमा अलआउट भयो । ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उनले ७७ बल खेली ५ चौका प्रहार गरे । अर्का ओपनर मयन यादव ४, अर्जुन कुमाल शून्य, नरेन भट्ट ४ सहित सन्तोष यादव ७ रनमा आउट भएपछि नेपालले पूरा इनिङ्स दबाबमा खेलेको थियो । 

उत्तम थापामगरले २९ रन बनाए । ६९ बल खेली २ चौका प्रहार गरेका उनी रनआउट हुन पुगे । रोशन विश्वकर्मा २ र नरेन साउद ४ रनमा आउट भएपछि तल्लोक्रममा आएका अभिषेक तिवारीले ३५ बल खेली १ चौका र २ छक्कासहित २९ रन बनाए । कप्तान हेमन्त धामी २ रनमा आउट भए । बंगलादेशबाट अल फाहद, इक्बाल हुसैन इमोन र रिजान हुसनले २–२ विकेट लिए । 

बंगलादेशले २९ ओभरभित्र लक्ष्य पूरा गरेको थियो । हेमन्तले ओपनर कलाम सिद्धिकीलाई पहिलो ओभरमै आउट गरे पनि जवाद अबरार र कप्तान एजिजुल हाकिमले अर्धशतक बनाउदै बंगलादेशलाई सजिलो विजय दिलाए । सो क्रममा यी दुईले दोस्रो विकेटमा ९० रन जोडेका थिए । अबरारले ६५ बल खेली ५ चौका र ४ छक्कासहित ५९ र हाकिमले ७२ बल खेली २ चौका र ३ छक्कासहित अविजित ५२ रन बनाए । 

अबरारलाई युवराज खत्रीले आउट गरी नेपाललाई झिनो आशा देखाएका थिए । लेगब्रेक बलर युवराजले अबरार र हाकिमको साझेदारी तोडेपछि शिहाव जेम्सलाई शून्य र फरिद हसनलाई १३ रनमा बोल्ड गरेका थिए ।

युवराजले रिजानलाई पहिलो बलमा एलबीडब्लू आउट गरे । युवराजले ६ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर ४ र हेमन्तले ६.४ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर १ विकेट लिए । 

कान्तिपुर

Link copied successfully