काठमाडौँ — करण केसीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजको कप्तानी गर्ने भएका छन् । गुर्खाजले आइतबार आफ्नो समाजिक सञ्जाल मार्फत कप्तान र उपकप्तानको घोषणा गरेको थियो । टोलीको उपकप्तानमा नामिबियाका कप्तान जेरहार्ड इरसमस रहेका छन् ।
गुर्खाजले सोमबार चितवन राइनोजविरुद्ध खेल्दै एनपीएलको सुरुआत गर्नेछ । गुर्खाजले करणलाई ‘मार्की’ खेलाडीको रुपमा लिएको थियो । करणले यसअघि धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र नेपाल टी–२० लिगमा विभिन्न फ्रेन्चाइज टोलीको कप्तानी गरिसकेका छन् ।
एनपीएल खेल्नलाई इरसमस शनिबार काठमाडौं आइपुगेका थिए । फेब्रुअरीमा काठमाडौंमा भएको विश्वकप लिग २ मा इरसमसको कप्तानीमा नामिबियाले कुल ४ खेलमा नेपाललाई २ र नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । इरसमसले आफ्नो नेतृत्वमा पछिल्लो समय नामिबियालाई ट्वान्टी–२० विश्वकपमा डोर्याउदै ल्याएका छन् ।
‘मार्की’ खेलाडी मध्येमा जनकपुर बोल्ट्सले मात्र अहिलेसम्ममा कप्तान परिवर्तन गरेको छ । जनकपुरको मार्की खेलाडीमा आसिफ शेख रहेका छन् । तर जनकपुरले अनिल साहको कप्तानीमा विराटनगर किंग्समाथि शनिबारको खेलमा विजय हात पारेको थियो । जनकपुरले सोमबार दोस्रो खेलमा कर्णाली याक्सको सामना गर्नेछ । जनकपुरको यो दोस्रो र कर्णालीको पहिलो खेल हुनेछ ।
यस खेललाई एनपीएल खेल्न आएका दुई शीर्षस्थ विदेश खेलाडी जिम्मी निशम र शिखर धवन बीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । भारतका पूर्व ओपनिङ ब्याटर धवन शुक्रबार कर्णाली याक्सबाट खेल्न काठमाडौं आएका थिए ।
उनलाई शनिबार एनपीएलको उद्घाटनका क्रममा मैदान भित्र प्रस्तुत गरिएको थियो । धवनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाहिर खेल्न लागेको यो पहिलो लिग हो । निशम आइतबार काठमाडौं आइसकेका छन् ।
