काठमाडौँ — न्युजिल्यान्डका प्रभावकारी अलराउन्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न आइतबार दिउँसो काठमाडौं आइपुगेका छन् । ३४ वर्षे उनी जनकपुर बोल्ट्सबाट एनपीएलमा खेल्दै छन् । उनी एनपीएल खेल्न आउने विदेशी खेलाडीमा ठूला नाममा पर्छन् ।
जनकपुर बोल्ट्सले शनिबार प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । तर यूएईमा अवुधावी टी–१० लिग खेलिरहेका कारण उनले जनकपुर बोल्ट्सले खेलेको पहिलो खेल गुमाएका थिए । उनले अजमान बोल्ट्सबाट अवुधावीमा ५ खेल खेलेर नेपाल आएका हुन् । जनकपुरले सोमबार दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध खेल्दै छ । उनले कर्णालीविरुद्ध खेल्ने अपेक्षा गरिएको छ ।
निसमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडा लगायतले स्वागत गरेका थिए । मिडियम पेस अलरान्डर निसमले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र ७९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले पछिल्लो टेस्ट ७ वर्षअगाडि खेलेको थिए । गत वर्ष भारतमा भएको विश्वकपयता निसमले एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छैनन् । उनले न्युजिल्यान्डबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय भने खेल्दै आएका छन् ।
उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १५४ माथिको स्ट्राइक रेटमा रन बनाएका छन् । निसमले दिल्ली डेयरडेभिल्स, किंग्स ११ पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिगमा खेलेका छन् । त्यसबाहेक उनले भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, दक्षिण अफ्रिका टी–२०, द हन्ड्रेड, पाकिस्तान सुपर लिग, बिग बास, क्यारेबियन प्रिमियर लिग, च्याम्पियन्स लिग लगायतका प्रतियोगिता खेलेका छन् ।
