काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि भारतीय पूर्व स्टार क्रिकेटर शिखर धवन शुक्रबार साँझ काठमाडौं आइपुगेका छन् ।
कर्णाली याक्सबाट एनपीएल खेल्ने धवनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेलगायतले स्वागत गरेका थिए ।
३८ वर्षीय बायाँहाते ओपनर धवनले आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पन्जाब किंग्सबाट खेलिसकेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो र चर्चित नाम हो ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग खेल्नेछ ।
