डेभिस कप टेनिस : नेपालको ऐतिहासिक फड्को

एसिया/ओसियाना क्षेत्रमा १५ राष्ट्रको सहभागिता रहेको समूह ५ बाट नेपाल र फिलिपिन्स समूह ४ मा उक्लन सफल 

मंसिर ९, २०८१

ध्रुव तुलाधर

Davis Cup Tennis: Nepal's historic leap

काठमाडौँ — ‘द वर्ल्डकप अफ टेनिस’ को रूपमा रहेको प्रतियोगिता डेभिस कपमा नेपालले ऐतिहासिक सफलता पाएको छ । बहराइनको मनामामा भएको एसिया/ओसियाना क्षेत्रको समूह ५ बाट नेपालले फड्को मारेको छ । इसा टाउनस्थित पोलिटेक्निक युनिभर्सिटीको कोर्टमा शनिबार आयोजक बहराइनलाई रोकेपछि नेपाल माथिल्लो समूह ४ मा उक्लेको हो । बढुवाका लागि भएको प्लेअफ प्रतिस्पर्धामा नेपालले बहराइनविरुद्ध २–० को जित पाएको थियो ।

यस समूहमा नेपालसहित १५ राष्ट्रको प्रतिस्पर्धा गरेका थिए । त्यसबाट दुई टिम समूह ४ मा बढुवा हुन्थ्यो । चार समूहमा रहेर प्रतिस्पर्धा गर्दा नेपालले समूह ‘ए’ मा ग्वाम र ब्रुनाई पन्छाएर प्लेअफमा स्थान बनाएको थियो । आयोजक बहराइनले समूह ‘डी’ मा यमन, ताजकिस्तान र बंगलादेशलाई पछि पारेको हो । अर्को बढुवा हुने टिममा फिलिपिन्स रह्यो । टोलीले नर्थन मारियाना आइल्यान्डलाई २–१ ले हराएको थियो ।

सन् १९८९ देखि डेभिस कप खेल्दै आएको टिम हो बहराइन । उसले एसिया/ओसियाना क्षेत्रको समूह ‘२’ मा चारपल्ट सहभागिता जनाइसकेको छ । नेपालले दोस्रोपल्ट मात्र डेभिस कपमा सहभागिता जनाएको हो । 

नेपाली खेलाडीले दुवै सिंगल्स खेल जितेपछि डबल्सको प्रतिस्पर्धामा उत्रनुपरेन । पहिलो खेलमा नेपालका दोस्रो वरीयताप्राप्त खेलाडी अभिषेक बाँस्तोलाले बहराइनका युसुफ काइदविरुद्ध ६–४, ६–१ को सेटमा हराएका थिए । सन् २०१० देखि डेभिस कप खेलेका युसुफको यो १०औं सहभागिता थियो । अनुभवी विपक्षीमाथि अभिषेकले १ घन्टा ५२ मिनेटमा खेल आफ्नो पक्षमा पारेका थिए । 

Davis Cup Tennis: Nepal's historic leapनेपालका पहिलो वरीयताका प्रदीप खड्काले बहराइनका इलियास अब्दुल जलिलमाथि ६–४, ६–१ को सेटमा जित निकालेको थियो । मनामामै जन्मेका इलियास पनि २०१६ देखि डेभिस कप खेल्दै आएका खेलाडी हुन् । प्रदीपले १ घन्टा ३१ मिनेटमा खेल जितेका थिए । अभिषेक र प्रदीप दुवैको डेभिस कपमा दोस्रो सहभागिता हो ।

बहराइन जस्तो अनुभवी टिमलाई निर्णायक खेलमा हराएर माथिल्लो डिभिजनमा पुग्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको खेलाडी अभिषेकले बताए । उनले भने, ‘नेपाली टेनिसका लागि यो ऐतिहासिक दिन मान्नुपर्छ । प्लेअफमा आयोजकसमेत रहेको अनुभवी बहराहनलाई हराएर माथिल्लो डिभिजनमा पुग्नु हाम्रो ठूलो हो । बाक्लो घरेलु समर्थकको हुटिङबीच हामीले आफ्नो प्रदर्शन डगमगाउन दिएनौं ।’ 

अभिषेक डेभिस कपमा अपराजित छन् । उनले अघिल्लो वर्ष खेलका सिंगल्सका तीनै खेल जितेका थिए । अहिले पनि तीनै खेल जितेका छन् । यसपल्ट नेपालले समूह चरणमा ग्वामलाई २–१ ले र बुनाइलाई ३–० ले हराएको थियो । ग्वाम सन् २०१८ देखि डेभिस कपमा खेल्न थालेको टिम हो । ब्रुनाइको डेभिस कपमा १६ औं सहभागिता थियो । अभिषेक र प्रदीपसहित नेपाली डेभिस कप टिममा प्रनव खनाल, रितिक राना र प्रनव मानन्धरको सहभागिता थियो । दुई प्रनवको डेभिस कप यात्रा पहिलो हो ।

एसिया/ओसियाना क्षेत्रको समूह ४ मा कतार, श्रीलंका, किर्गिस्तान, कुवेत, कम्बोडिया, इराक, म्यानमारजस्ता राष्ट्र रहेका छन् । मनामाबाटै खेलाडी अभिषेकले भने, ‘अब हाम्रो लक्ष्य भनेको अगाडि बढ्दै विश्वका शीर्ष राष्ट्रका खेलाडीसँग खेल्ने हो । त्यसका लागि हामीले अझै धेरै मिहिनेत र संघर्ष गर्नुपर्ने हुन्छ । यो सफलताको सुरुआत मात्र हो ।’

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully