अनुभवी ग्वामविरुद्ध नेपालको जित

मंसिर ५, २०८१

ध्रुव तुलाधर

Nepal wins against experienced Guam

काठमाडौँ — नेपालले बहराइनको इसा टाउनमा सुरु डेभिस कप टेनिसमा बुधबार ग्वामविरुद्ध २–१ को विजय नतिजा निकालेको छ ।

मानामास्थित पोलिटेक्निक युनिभर्सिटीको कोर्टमा नेपालले दुई सिंगल खेल जितेको थियो भने डबल्समा पराजय भोगेको हो ।  ‘द विश्वकप अफ टेनिस’ रूपमा प्रतियोगिता डेभिस कपमा नेपालको यो दोस्रो सहभागिता हो । डेभिस कप देशको टिमले खेल्ने प्रतियोगिता हो ।

सिंगल्सतर्फ नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले ग्वामका डिरेक ओकुहामालाई ६–१, ६–१ को सेटमा सजिलै हराएका थिए । अघिल्लो वर्ष डेभिस कप डेब्युमा पनि अभिषेकले माल्दिभ्स, कतार, यमनका खेलाडीलाई हराएका थिए ।

अर्को सिंगल्स खेलमा प्रदीप खड्काले ग्वामका डानियल लिरारेन्सविरुद्ध ६–२, ६–२ को जित निकालेका थिए । प्रदीप पनि पहिलो संस्करणमा यमनविरुद्ध विजय नतिजा निकालेका खेलाडी हुन् ।

डबल्सतर्फ भने प्रनव खनाल र प्रनव मानन्धरको जोडीले आरमन सचदेव र क्यामदेन कामाचोविरुद्धको खेल ६–२, ६–२ ले गुमाएको थियो । दुई प्रनवको डेभिस कपमा यो पहिलो सहभागिता हो ।

एसिया तथा ओसियाना क्षेत्रको ग्रुप फोरमा नेपालसहित १५ राष्ट्रको सहभागिता छ । चार समूहमा विभाजन गरिएकोमा नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा ग्वाम र ब्रुनाई छन् ।

सन् २०१८ देखि खेल्न थालेको ग्वामको डेभिस कपमा यो छैटौं सहभागिता हो । ग्वाम माथिल्लो डिभिजनमा पुगेर अहिले तल्लो डिभिजनमा झरेको हो । ब्रुनाइको यो १६ औं डेभिस कप सहभागिता हो ।

यही नोभेम्बर २३ सम्म हुने प्रतियोगितामा यस क्षेत्रबाट दुई टिम माथिल्लो डिभिजनमा बढुवा हुनेछ । आफ्नो समूह जितेमा नेपालले समूह ‘डी’ को शीर्षमा रहने टोलीसँग प्लेअफ खेल्नेछ । त्यसमा बहराइन, यमन, बंगलादेश र ताजकिस्तान छ ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully