‘ह्याट्रिक स्टार’ हरू

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालका पाँच खेलाडीका नाममा १६ ह्याट्रिक

कार्तिक ७, २०८१

हिमेश

The 'Hatrick Stars'

काठमाडौँ — नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा माल्दिभ्समाथि प्राप्त जित विशेष रह्यो । त्यो खेल गोलका कारण पनि विशेष बनेको थियो । स्कोर थियो ११–० । समूह ‘बी’ को आफ्नो पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरीमा चित्त बुझाएपछि नेपालको टिम दबाबमा थियो ।

खेलाडी जति आत्तिएका थिए, साँच्चै गोल किन गर्न सकिएन भनेर । आखिरमा भुटान त्यस्तो प्रतिद्वन्द्वी थियो, जसलाई नेपालले यसअघि मज्जाले हराउने गर्थ्यो । 

तर, माल्दिभ्सलाई हराएपछि नेपाल फेरि सही बाटोमा फर्केको छ । अब नेपालले समूह विजेता बन्नेबाट सोच्न सक्छ । समूह जित्नु पनि पर्छ, किनभने यो नै फाइनल प्रवेशको सबैभन्दा सजिलो बाटो हुने गर्छ । त्यसो त नेपाल र भुटान दुवैको समान ४ अंक छ । समूहको तेस्रो टिम श्रीलंका ३ अंकमा छ । तीनै टिमसामु सेमिफाइनल प्रवेशको सम्भावना छ भने सबै टिमलाई प्रतियोगिताबाट बाहिरिने डर पनि छ । भलै, कागजमा नेपाल र भुटान नै अन्तिम चारमा प्रवेश गर्नका लागि बलिया छन् । 

यहाँनिर चर्चा गर्न लागेको खासमा यस प्रतियोगितामा केन्द्रित रहेर होइन । बरू खेलाडीको व्यक्तिगत प्रदर्शनलाई लिएर हो । माल्दिभ्समाथि प्राप्त जितमा दुई ह्याट्रिक भएको थियो । एउटा रेखा पौडेलको नाममा, अर्कोमा प्रीति राई । यस्तोमा प्रश्न उठ्न सक्छ, साँच्चै अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला खेलाडीले कति ह्याट्रिक गरेका छन् त ? यो को कसको नाममा छ त ? त्यो पनि कहाँ कुन टिमविरुद्ध ? यसैको उत्तर खोज्ने प्रयास गरेका छौं । अहिलेसम्म १६ ह्याट्रिक भएको छ । यी पाँच महिला खेलाडीको नाममा छ । उनीहरू हुन्, ‘ह्याट्रिक स्टार’ । 

जमुना गुरुङ

महिलाको अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि पहिलो ह्याट्रिक गर्ने श्रेय जमुना गुरुङलाई जान्छ । नेपाली महिला फुटबलको पहिलो ‘ट्र्यु लिजेन्ड’ हुन् उनी । अनि तेस्रो कप्तान । उनकै नेतृत्वमा नेपालले 

सन् २०१० को दक्षिण एसियाली खेलकुदमा महिला फुटबलमा सहभागिता जनाएको थियो । ढाकामा श्रीलंकाविरुद्ध प्राप्त ८–१ को जितमा उनले पहिलो ह्याट्रिक गरेकी थिइन् । उनले अहिलेसम्म कुल ५ ह्याट्रिक गरेकी छन् । उनी पाँच ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी भइन् । जमुनाको खेलजीवनको यो एउटा ठूलो विशेषता हो । उनी सन् १९९९ मा नेपालले एएफसी महिला च्याम्पियनसिप खेल्दा टिमकी सदस्य पनि थिइन् । 

अनु लामा

जमुनापछि उत्तिकै संख्यामा ह्याट्रिक गर्ने खेलाडीको नाम आउँछ, अनु लामा । उनले पनि नेपाली टिमको नेतृत्व गर्ने मौका पाइन् । सावित्रा भण्डारी अगाडि सर्वाधिक गोलको कीर्तिमान उनकै नाममा थियो । अनुले पनि ठ्याक्कै ५ ह्याट्रिक गरेकी छन् । त्यसमध्ये पहिलो ह्याट्रिक त्यही ढाकामा सन् २०१० मा भएको दक्षिण एसियाली खेलकुदमै प्राप्त भएको थियो । त्यो पाकिस्तानविरुद्धको खेलमा हो ।

सन् २०१० त्यो वर्ष रह्यो, जसमा नेपालका तर्फबाट जमुना र अनुले पालैपालो सात ह्याट्रिक गरेका थिए । अनुले नेपालका लागि ३४ गोल गरेकी छन् । यसक्रममा एउटा ‘बेन्चमार्क’ स्थापित गरेकी थिइन् । 

सावित्रा भण्डारी 

जमुना र अनुपछि आउने नाम हो, सावित्रा भण्डारी । अर्थात् ‘साम्बा’ । उनको नाममा चार ह्याट्रिक छ । उनी आफ्नो खेलजीवनको उत्कर्षमा छन् । त्यसैले तय छ, उनले ढिलोचाँडो पाँचौं ह्याट्रिक आत्मसात् गर्नेछिन् । अनि त्यसलाई पछि उछिन्ने पछन् । हुनसक्छ, उनले आफ्नो खेल जीवन टुग्याउँदा गोलका भएभरका कीर्तिमान उनकै नाममा हुन बेर छैन ।

उनको पहिलो ह्याट्रिक सन् २०१६ मा सम्भव भएको थियो, जतिबेला उनले भुटानविरुद्ध सिलिगुढीमा ६ गोल गरिन् । एउटै खेलमा एकै खेलाडीले सर्वाधिक गोल गरेको कीर्तिमान पनि त्यही हो । उनीबारे सबैलाई थाहा भएको तथ्य हो, उनले ५३ गोल गरिसकेकी छन् । 

रेखा पौडेल

हुन सक्छ, कुनै समय जसरी गोलका लागि जमुना र अनुबीच व्यक्तिगत प्रतिस्पर्धा चल्ने गर्थ्यो । अबको केही वर्ष यस्तै छनक सावित्रा र रेखाले दिनेछन् । एक प्रकारले सावित्रा पुराना र अनुभवी खेलाडी भइसकिन् । फेरि नेपाललाई उनी जत्तिकै बराबरको अर्को ‘साम्बा’ पनि चाहिएको छ । रेखा त्यही खेलाडी हुन सक्छिन् । माल्दिभ्सविरुद्ध रेखाको यो नै पहिलो ह्याट्रिक भयो । त्यसपछि व्यक्तिगत ५ गोलको प्रदर्शन । नेपालका लागि उनले गरेको गोल संख्या ९ पुगिसकेको छ । चाँडै गोलको दोहोरो अंक छुने केही खेलाडीमा पर्दैछिन् उनी । किनभने यस्तो उपलब्धि धेरै कमले मात्र आत्मसात् गरेकी छन् । 

प्रीति राई

नेपालका लागि महिला फुटबलमा अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने पाँचौं खेलाडी हुन्, प्रीति राई । अनि मिडफिल्डरका रूपमा ह्याट्रिक गर्ने पहिलो । संयोगले यो पनि माल्दिभ्सविरुद्ध नै प्राप्त भएको थियो । भलै, उनले यो खेलमा पहिलो गोल गरिन्, तर ह्याट्रिक भने रेखाको उपलब्धिपछि सम्भव भएको हो ।

त्यसैले उनी पाँचौं खेलाडी भइन् । उनका तीन गोलमध्ये ह्याट्रिक पेनाल्टीबाट सम्भव भएको थियो, यो एक अर्को विशेषता रह्यो । जसरी अरू खेलाडीले उनलाई ह्याट्रिकको अवसर बनाउन पेनाल्टी प्रहार गर्ने अवसर दिए, त्यो पनि आफैंमा उत्कृष्ट क्षण थियो । प्रीतिले नेपालका लागि गरेको गोलसंख्या भने ५ पुगेको छ ।

हिमेश

Link copied successfully