एरिकालाई धनगढीमा २ लाखसहित सम्मान

आश्विन २०, २०८१

कान्तिपुर संवाददाता

Erica honored with 2 lakhs in Dhangadhi

धनगढी — खेलकुद अवार्ड २०८१ तथा सुदूरपश्चिम प्रदेश कराते रेफ्री सेमिनारका क्रममा करातेकी ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई २ लाखसहित सम्मान गरिएको छ ।

उक्त रकम हाल अमेरिकामा रहेका करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी जनकसिंह खड्काले उपलब्ध गराएका थिए । १९औं एसियाली खेलकुदमा कराते खेलतर्फ स्वर्ण, रजत र कांस्य जित्ने नेपाली खेलाडीलाई क्रमशः ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार दिने पूर्वघोषणा गरेअनुरुप खड्काले रकम उपलब्ध गराएका हुन् ।

कार्यक्रमअघि एरिका र भुटानमा हालै सम्पन्न आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका पदक विजेता खेलाडीको सम्मानमा सहिद गेटदेखि धनगढी रंगशालासम्म र्‍याली निकालिएको थियो । त्यसमा नेपाल प्रहरीको ब्याण्डसहित बिभिन्न खेलका खेलाडी, प्रशिक्षक, रेफ्री, खेलसंघका पदाधिकारी, जिल्ला र प्रदेश खेलकुदका कर्मचारी तथा खेलप्रेमी सहभागी थिए ।

आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका पदक बिजेता सुदूरपश्चिम प्रदेशका खेलाडीलाई पनि एक लाख रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको थियो ।उक्त पुरस्कार राशि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपलब्ध गराएका थिए ।

सोही अवसरमा सुदूरपश्चिम प्रदेश कराते महासंघले निरन्तर प्रशिक्षणरत रही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेका उत्कृष्ट प्रशिक्षकद्वय वीरेन्द्रबहादुर चन्द र ललित खत्री तथा प्रदेशकै प्रथम एसियाली रेफ्री प्रकाशकुमार चन्दलाई नगदसहित सम्मानित गरेको थियो । करातेका पूर्व खेलाडी तथा प्रदेशका उद्योग, पर्यटन, वातावरण तथा वनमन्त्री लक्ष्मणकिशोर चौधरीलाई मानार्थ ब्ल्याकबेल्ट तेस्रो डान प्रदान गरिएको थियो । नेपाल कराते महासंघका संस्थापक अध्यक्ष एवं नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले चौधरीलाई प्रमाणपत्र, कराते ड्रेस र बेल्ट प्रदान गरे ।

कैलाली जिल्ला खेलकुद समितिले पहिलोपटक जिल्लाका ४ विधामा सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरेको थियो । महिला सिनियर खेलाडीमा करातेकी अन्तर्राष्ट्रिय खेलाडी वर्षा साउद, पुरुष सिनियर खेलाडीमा क्रिकेटका अभिषेक पाल, महिला जुनियर खेलाडीतर्फ करातेकी मनीषा बोहरा र पुरुष जुनियरतर्फ करातेका छत्रबहादुर थापा सर्वोत्कृष्ट घोषित भएका थिए ।

प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्ड्येको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका मन्त्री लक्ष्मणकिशोर चौधरी, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतलगायतले सम्मानित गरे ।  

कान्तिपुर

Link copied successfully