ओमान लिगमा भाग्य अजमाउँदै प्रदीप

प्रदीपलाई ओमानको राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आएका सुफियान महमुदले मस्कट बोलाएका हुन्

भाद्र २६, २०८१

विनोद पाण्डे

Pradeep trying his luck in Oman League

काठमाडौँ — प्रदीपसिंह ऐरी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो पुनरागमनको प्रयासमा अहिले ओमानको घरेलु प्रतियोगितामा भाग्य अजमाइरहेका छन् । आइतबार सुरु ओमान क्रिकेट लिग सिजन २०२४–२५ मा उनी रेनाइसेन्स च्यालेन्जरबाट डी टी–१० लिगमा खेलिरहेका छन् । 

टी–१० लिगमा ६ टिम छन्, शीर्ष दुई फाइनलमा पुग्नेछन् । यसपछि एकदिवसीय, दुईदिवसीय र त्यसपछि ट्वान्टी–२० हुनेछ । विगतमा नेपालका आक्रामक ओपनिङ ब्याटर रहेका प्रदीपले विकेटकिपर/ब्याटरको भूमिकामा रेनाइसेन्सबाट खेल्नेछन् । आइतबार पहिलो खेलमै प्रदीपले आफ्नो प्रभाव देखाएका छन् । 

ओपनिङमा ब्याटिङ गर्न आएका प्रदीपले २५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरी अविजित ३८ रन बनाएपछि रेनाइसेन्सले यल्लाह सबाब जायन्ट्सविरुद्धको खेल २१ रनले जितेको थियो । रेनाइसेन्सले पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरमा २ विकेट गुमाई ९४ रन बनाएको थियो । जवाफमा यल्लाहले ९ विकेट गुमाई ७३ रनमात्र बनाउन सक्यो ।

रेनाइसेन्सबाट अकिब इल्यास, फायज बट, हमाद मिर्जा, मुजाएर रजा गरी ओमानको राष्ट्रिय टोलीबाट खेलिसकेका कुल ८ खेलाडी छन् । इल्यासलगायतका खेलाडी विश्वकप लिग २ मा क्यानडा र नेपालसँग खेल्न टोरन्टो पुगिसकेका छन् । उनीहरूको अनुपस्थितिमा रेनाइसेन्सबाट प्रदीप विदेशी खेलाडीको रूपमा खेलिरहेका छन् । 

प्रदीपले उमेर समूहको क्रिकेटमा राम्रो प्रभाव पारेपछि सन् २०१० मा इटालीमा भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । उनले नेपालबाट १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । पछिल्लो पटक २०२२ मा ओमानमै भएको ट्वान्टी–२० विश्वकप छनोट खेलेका थिए । पहिलो खेलपछि घाइते भएका उनले त्यसयता पुनरागमन गर्न सकेका छैनन् ।

ओमानको घरेलु प्रतियोगितामा खेलेपछि राष्ट्रिय टोलीमा प्रवेशका लागि आत्मविश्वास बढाउने विश्वास प्रदीपको छ । नेपालमा घरेलु प्रतियोगिता खेल्नुपरेमा आउने गरी रेनाइसेन्ससँग सम्झौता रहेको उनी जनाउँछन् । अर्थात मंसिरमा सुरु हुने नेपाल प्रिमियर लिग क्रिकेटका लागि उनी आवश्यक परे स्वदेश फर्किने छन् । उनले घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्दै आएका छन् । 

ओमानको राष्ट्रिय टोलीबाट खेल्दै आएका सुफियान महमुदले प्रदीपलाई मस्कट खेल्न बोलाएका हुन् । उनी रेनाइसेन्स टोलीका कप्तान पनि हुन् । प्रदीप र सुफियानले २०१८ मा रूपन्देही च्यालेन्जर्सबाट धनगढी प्रिमियर लिग खेलेका थिए । सुफियानले यसअघि पनि ओमानमा बोलाएको तर चोटका कारण आफू जान नसकेको प्रदीप बताउँछन् । 

प्रदीपको नाममा नेपाली खेलाडीको दुई ठूलो उच्च स्कोरको कीर्तिमान छ । सन् २०१२ मा अस्ट्रेलियामा भएको आईसीसी यू–१९ विश्वकपमा प्रदीप शतक नजिक पुगेका थिए । नामिबियाविरुद्धका खेलमा उनले अविजित ९८ रन बनाए, जुन नेपाली खेलाडीको यू–१९ विश्वकपमा व्यक्तिगत उच्च स्कोर हो । नेपालले आठ पटक यू–१९ विश्वकप खेलिसके पनि कुनै खेलाडीले शतक बनाउन सकेका छन् । प्रदीप भन्छन्, ‘यू–१९ विश्वकपमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर अझै मेरै नाममा छ । म चाहन्छु मेरो नाममा रहेको यो कीर्तिमान कुनै नेपाली खेलाडीले तोडेर शतक बनाओस् ।’

घरेलु प्रतियोगितामा पनि व्यक्तिगत उच्च स्कोर प्रदीपकै नाममा छ । उनले २०७५ सालमा भएको प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबबाट खेल्दै मधेश प्रदेश (तत्कालीन प्रदेश नम्बर २) विरुद्ध १ सय ५८ रन बनाएका थिए । प्रदीपबाहेक घरेलु राष्ट्रिय क्रिकेटमा १ सय ५० व्यक्तिगत स्कोर बनाउने राजु खड्कामात्र हुन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully