काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको बताएका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित प्रतियोगिताको तयारीसम्बन्धी सरोकारवालासँगको छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना हुने कुराको देश तथा विदेशबाट मूल्यांकन हुने बताए।
उनले अहिले नै खेलकुद प्रतियोगिताको लागि दिनगन्ती सुरु भइसकेको भन्दै व्यवस्थापन कमजोर हुन नदिन सबैसँग आग्रह गरे । निर्धारित समय अनुसार आगामी मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ। त्यसबेलासम्म अहिलेको अवस्था अनुसार व्यवस्थापन कमजोर रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
प्राप्त बजेटबाट दक्षता देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै ठाउँ-ठाउँ पुगेर विभिन्न माग नराख्न ध्यानाकर्षण गराए। गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराए। कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम प्रयास गरी निराश हुन नदिने प्रतिबद्धता जनाए।
आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न भूमिका अनुसारको दायित्व पूरा गर्नुपर्ने उनको भनाई थियो। आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेट लगायतका व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाए।
कार्यक्रमको अध्यक्षता समेत गरेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित प्रतिस्पर्धी खेलहरुमध्य थप खेलहरु समावेश गर्नका लागि आफ्ना तर्फबाट गर्नुपर्ने कामहरू आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए। प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा रहेको प्रष्ट पारे।
उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु हो र कर्णालीले दुई अंकको पदक लिनु पर्ने चुनौती देखिएको बताए। यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षण सहितका आवश्यक व्यवस्थापनका लागि तयारी भैरहेको बताए। व्यवस्थापनको पक्षमा कुनैपनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषदलाई निर्देशन दिए।
