गौरीटार रंगशालाले गति लिँदै

श्रावण २९, २०८१

सुवास विडारी

Gauritar Stadium gaining momentum

मकवानपुर — नेपाली खेलकुदको सबैभन्दा ठूलो परियोजनाको रूपमा रहेको गौरीटार रंगशाला निर्माणको कामले तीव्रता पाएको छ । वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले रंगशालाको स्थलगत निरीक्षण गर्दै सम्पूर्ण पूर्वाधार निर्माण तोकिएको समयमा पूरा गर्न निर्देशन दिएका छन् ।

हेटौंडा–६ स्थित गौरीटारमा क्रिकेट, फुटबल मैदान र पौडीपोखरीको निर्माण भइरहेको छ । मन्त्री महर्जनले गत वैशाखमा शिलान्यास गरिएको क्रिकेट मैदान र पौडीपोखरीको कामले तीव्रता पाएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र पौडीपोखरी निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालेको हो । उनका अनुसार उक्त क्रिकेट मैदानमा पहिलो चरणमा ६ सय दर्शक क्षमताको एउटा प्यारापिटसहित ५ वटा पिच, ७० मिटर रेडियसको ग्राउन्ड भीभीआईपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टीभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने राखेपका इन्जिनियर निवेश बर्तौलाले बताए ।

आगामी एक वर्षभित्र उक्त संरचना निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्कामार्फत् काम भइरहेको प्रदेश खेलकुद विकास परिषद्का इञ्जिनियर बर्तौलाले बताए । निरीक्षणपछि मन्त्री महर्जनले समयसीमाभित्रै निर्माण कार्य सम्पन्न गर्ने पहल र निर्माण कम्पनीलाई दबाब दिने बताए । 

खेलकुदमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेकाले प्रदेश सरकारले तत्काल निर्माण कम्पनीलाई उपस्थित गराएर काम छिटो सक्न निर्देशन गर्ने उनको भनाइ छ । प्रदेश सरकारले खलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुद संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए ।

उनले रंगशाला भित्र निर्माण भइरहेका दुइटै खेलकुद संरचनाको निर्माणको जिम्मा लिएका कम्पनीका प्रतिनिधिलाई उपस्थित गराउने निर्देशनसमेत दिएका छन् । राज्यका निकायका कमजोरी, मन्त्रीहरूको खबरदारी नहुँदा खेलकुदका संरचना अलपत्र पर्ने गरेकाले त्यसलाई रोक्न सुझाए ।

Gauritar Stadium gaining momentumगौरीटार रंगशालामा विभिन्न १९ खेलसम्बन्धित संरचना निर्माण गरिने योजनाअनुसार काम सुरु गरिएको हो । देश संघीय संरचनामा गएसँगै रंगशाला निर्माणको काम प्रदेश सरकारअन्तर्गत रहेको उक्त आयोजनामा क्रमागतबाट बजेट विनियोजन गरिदै आएको छ । फुटबल मैदान, एथलेटिक्स ट्र्याक एन्ड फिल्ड, भीआईपी प्यारापिट र फ्लडलाइट गरी ९० करोड रुपैयाँको लागत अनुमानसहित डीपीआर तयार पारेर काम गरिरहेको छ ।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद परिषद्का इन्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका थिए । केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) का रूपमा विकास गर्नेगरी तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद संचना निर्माणको थालनी गरेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यसहित निर्माण गर्न लागिएको यस रंगशालामा फुटबल, भलिबल, क्रिकेट मैदान, पौडीपोखरी, छात्रावास, प्रशासनिक भवनलगायतको संरचना निर्माण गर्ने परिषद्को योजना छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully