सन् २०१० मा आजको दिन : स्पेनलाई विश्वकपको उपाधि

असार २७, २०८१

कान्तिपुर संवाददाता

Today in 2010: Spain win the World Cup

काठमाडौँ — सन् २०१० मा आजकै दिन (जुलाई ११) मा स्पेनले १९ औं फिफा विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित सकर सिटीमा आयोजित फाइनल खेलमा स्पेनले नेदरल्यान्डलाई १–० ले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि हासिल गरेको हो । स्पेनले सेमिफाइनलमा जर्मनी र नेदरल्यान्डले उरुग्वेलाई पन्छाउँदै फाइनल पुगेका थिए । 

फाइनलमा निर्धारित ९० मिनेटमा गोल नभएपछि खेल अतिरिक्त समयसम्म धकेलिएको थियो । अतिरिक्त ३० मिनेटको खेलमा आन्द्रे इनिस्टाले गरेको गोलले स्पेनलाई उपाधि दिलायो । साथै, युरोपबाहिर आयोजित विश्वकपको उपाधि हात पार्ने पहिलो युरोपेली देश स्पेन बनेको थियो ।

फाइनलमा इनिस्टा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । स्पेनी गोलकिपर इकर कासिलासले ‘गोल्डेन ग्लोभ’ जितेका थिए । फाइनल खेल हेर्न रंगशालामा साढे ८५ जना उपस्थित रहेको र ९१ करोडले टेलिभिजनमार्फत खेल हेरेको फिफाले जनाएको थियो । 

उक्त विश्वकपमा स्पेनको ‘टिकी–टाका’ शैलीको प्रशंसा भएको थियो । छोटाछोटा पास, बल पोजिसनमा नियन्त्रणको यो शैली पहिले स्पेनकै ला–लिगामा प्रयोग भइसकेको थियो । यही शैलीको खेलबाट स्पेनले सन् २०१२ को युरोकप पनि जितेको थियो ।

कान्तिपुर

Link copied successfully