एनभीए राष्ट्रिय भलिबल लिग : हेल्प नेपाल र पुलिस लगातार च्याम्पियन   

जेष्ठ २६, २०८१

ध्रुव तुलाधर

NVA National Volleyball League: Help Nepal and Police are consecutive champions

काठमाडौँ — टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लब  आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग च्याम्पियन भएका छन् ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार सम्पन्न लिगको फाइनलमा दुवै टोलीले उपाधि रक्षा गरे । हेल्प नेपालले पुरुष र पुलिस क्लबले महिलातर्फको उपाधि जितेका थिए ।

हेल्प नेपालले अपराजित यात्रा फाइनल पुगेको गण्डकी प्रदेशलाई ३–१ सेटमा हराएर उपाधि जित्यो । टोलीले लिग चरणमा भोगेको हारको बदला पनि लिएको छ । हेल्प नेपालले लिगमा गण्डकीसँगको खेलमात्र गुमाएको थियो । उक्त खेल गण्डकीले ३–२ को प्रतिस्पर्धात्मक सेटमा जितेको थियो ।

फाइनलमा हेल्प नेपालले २५–२२, २२–२५, २५–२०, २५–२० को सेटमा नतिजा निकालेको थियो । च्याम्पियन भएसँगै हेल्प नेपालले ८ लाख रुपैयाँ पुरस्कार जितेको छ । गण्डकीले ४ लाख रुपैयाँ पायो ।

महिलातर्फको फाइनल प्रतिस्पर्धात्मक बन्यो । बुटवलको एभरेस्ट भलिबल क्लबविरुद्धको फाइनलमा विभागीय टोली पुलिसले लगातार दुई सेट जितेर दुई सेट गुमाएको थियो । अन्तिम सेटमा पुनरागमन गर्दै पुलिसले उपाधि रक्षा गरेको हो । पुलिसले २५–२१, २५–२३, २०–२५, २०–२५, १५–१२ ले फाइनल जितेको थियो ।

पुलिसले पनि एभरेस्टसँग लिग चरणको बदला लियो । लिगमा पुलिसविरुद्ध ३–१ सेटमा विजय निकालेको एभरेस्ट अपराजित रही फाइनल पुगेको हो । पुलिस त्यही हारका कारण उपविजेता हुँदै उपाधि भिडन्तमा पुगेको थियो । उपाधिसहित पुलिसले ८ लाख र एभरेस्टले ४ लाख रुपैयाँ पुरस्कार जिते ।

पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो हुँदै २ लाख जित्न सफल भयो । पुलिसले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ३१–२९, १३–२५, २२–२५, २५–२३, १५–८ ले हराएको थियो । पुलिसका सफल बिक प्लेयर अफ द म्याच भए ।

NVA National Volleyball League: Help Nepal and Police are consecutive champions

महिलातर्फको तेस्रो स्थानको खेलमा एपीएफ क्लबले बाजी मार्‍यो । एपीएफले त्रिभुवन आर्मीविरुद्धको खेलमा २५–१९, २५–२०, २५–१९ को सहज जित पाएको थियो । खेलमा एम राजा प्लेयर अफ द म्याच भइन् । हेल्प नेपालले २ लाख रुपैयाँ पुरस्कार पायो ।

प्रतियोगितामा हेल्प नेपालका मुबसर राजा वातो र महिलातर्फ पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । दुवैले जनही ५० हजार पुरस्कार पाए ।

विधागततर्फ हेल्प नेपालका टोपबहादुर थापा वेस्ट लिबेरो, एडनान खान वेस्ट सेटर र उत्सव खड्का बेस्ट प्रशिक्षक भए । गण्डकीका रमन कुमार वेस्ट सर्भर र सन्तोष वेस्ट स्पाइकर चुनिए भने पुलिसका सफल बिक बेस्ट ब्लकर भएका थिए । महिलातर्फ पुलिसले तीन विधाको उपाधि हत्यायो । शान्तिकला तामाङ वेस्ट लिबेरो, कमला पुन बेस्ट सेटर र रुपेश विष्ट वेस्ट प्रशिक्षक भए । एभरेस्टकी केपी अनुश्री बेस्ट स्पाइकर, एस सूर्या वेस्ट ब्लकर र एपीएफकी निरुता ठगुन्ना बेस्ट सर्भर चुनिएका थिए ।

विधागत उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ पुरस्कार पाएका थिए । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरेका थिए ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully