पलेशाको पेरिस तयारीलाई रकम प्रदान

चैत्र २८, २०८०

कान्तिपुर संवाददाता

Funding for Palesha's Paris preparations

काठमाडौँ — नेसनल पारालम्पिक कमिटी नेपालले पेरिस पाराओलम्पिक प्रशिक्षणको तयारीलाई २ लाख १५ हजार रुपैयाँ प्रदान गरेको छ । पारालम्पिक कमिटीकी अध्यक्ष राधा घलेले उक्त रकमको चेक बुधबार नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दलाई हस्तान्तरण गरेकी छन् ।

पलेशा गोवर्धनलाई पेरिस २०२४ पारालम्पिकको तयारी प्रशिक्षणका लागि उक्त रकम प्रदान गरिएको घलेले जानकारी गराइन् ।

चीनको तायानमा चैत पहिलो साता भएको एसियाली ओलम्पिक तथा पारा ओलम्पिक छनोटबाट पलेशा  पेरिस पारालम्पिकका लागि छनोट भएकी थिइन् । उनले स्वर्ण जित्दै नेपाली खेलकुद इतिहासमा छनोट प्रतियोगिताबाट ओलम्पिक छनोट हुने तेस्रो खेलाडीमा आफूलाई उभ्याएक थिइन् ।

टोकियो २०२० पारालम्पिक खेलिसकेकी पलेशाले यसै वर्ष चीनको हाङचाउ पारा एसियाडमा कांस्य पदकसमेत जितेकी थिइन् ।  

पलेशा पेरिस पारालम्पिकका लागि प्रशिक्षण गर्न चीनको सांघाईबाट वैशाख २ मा नेपाल आउने कार्यक्रम रहेको टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले जनाएका छन् । उनी उच्च शिक्षा अध्ययनका लागि सांघाईमा छिन् ।

कान्तिपुर

Link copied successfully