चितवन — प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता भरतपुरमा सुरु भएको छ । आइतबार साँझ भरतपुरको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
सातै प्रदेशका प्रदेश स्तरीय टिमले विभिन्न नौ खेलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता बैशाख १ गते शनिबारसम्म चल्ने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सुर्यलाल भण्डारीले राष्ट्रियस्तरको मजबुद टिम निर्माणका लागि प्रदेश टिम पनि बलियो हुनुपर्ने बताए । प्रदेशस्तरीय टिमबीच हुने प्रतियोगिताले खेलाडीहरुले खारिने अवसर पाउने र यसले गर्दा अन्तराष्ट्रिय स्तरमा हुने प्रतिस्पर्धामा खेलाडीको प्रर्दशन बलियो हुँदै जाने अपेक्षा लिएको बताए ।
प्रत्येक वर्ष हरेक प्रदेशले आलोपाले रुपमा प्रतियोगिता गर्दै जाने योजना रहेको पनि उनले बताए । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका खेलहरु हुनेछन् । भलिबलको महिला पुरुष दुवै समूहको खेल भरतपुरको गेष्टहाउस चौरमा हुने छ । महिला फुटबल भरतपुर शारदानगरको बखान स्मृति रंगशालामा हुने छ भने पुरुष फुटबल गौरीटार रंगशाला हेटौंडामा हुने छ ।
पुरुष महिला दुवैको क्रिकेट रामपुरमा निर्माणाधीन रंगशालाको नमुना मैदानमा हुने छ । बक्सिङ, कराँते र तेक्वान्दो भरतपुरमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सम्पन्न हुने छ । ब्याडमिन्टन भरतपुर कभर्डहलमा र एथलेटिक्स भरतपुर शारदानगरको चित्रवन रंगशालमा हुने छ । त्यसै गरी पौडी खेल भरतपुर देवनगरमा रहेको एक रिसोर्टको स्वीमिङ पुलमा सम्पन्न हुँदछ ।
प्रतियोगितामा दुई हजार पाँच सय खेलाडी र पदाधिकारी र निर्णायक थप पाँच सय गरेर कुल तीन हजारको हाराहारीमा सहभागी हुने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए । सहभागि खेलडीले नेपाल सरकारको सह-सचिव सरह दैनिक भत्ता पाउने र ३० लाख रुपैयाँ बराबरको बिमा पनि गरेको उनले बताए । प्रतियोगिताको समापन हेटौडामा हुने छ ।
