धरान फुटबल क्लब भरौल गोल्डकपको सेमिफाइनलमा

चैत्र २३, २०८०

अर्जुन सुवेदी

Dharan Football Club in the semifinals of the Bharaul Gold Cup

सुनसरी — धरान फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा बिजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र-५ मा शुक्रबार सम्पन्न उद्धघाटन खेलमा धरानले पाहुना टोली आमुक्त परिवार भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

धरानको जितमा कप्तान दोर्जे तामाङ र एन्सन राईले एक एक गोल गरे । तामाङले खेलको ३५ औं र राईले ८१ औं मिनेटमा गोल गरेका हुन् । भारतीय टिमको तर्फबाट कुञ्जमान थापाले खेलको ६१ औं मिनेटमा १ गोल फर्काए । खेलको म्यान अफ द म्याच धरानका एन्सन राई घोषित हुँदै नगद ५ हजार पाए । 

धरानले अब सेमिफाइनलमा प्लानिङ ब्वाइज युनियन काठमाडौं र हनामी बी एफसी चितवनबीच आइतबार हुने तेस्रो क्वाटरफाइनल खेलको बिजेतासँग आगामी चैत २७ गते प्रतिष्पर्धा गर्नेछ । शनिबार हुने दोस्रो क्वाटरफाइनल खेलमा आयोजक न्युस्टार फुटबल क्लब र कञ्चनजंगा फुटबल क्लब भारतबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । 

चैत्र ३० गतेसम्म चल्ने प्रतियोगितामा दुई भारतीय सहित ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।

अर्जुन

Link copied successfully