हाफ म्याराथनमा दीपक र सन्तोषी पहिलो

चैत्र १०, २०८०

कान्तिपुर संवाददाता

Deepak and Santoshi first in half marathon

काठमाडौँ — आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा शनिबार स्वर्ण जितेका छन् । दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन् ।

एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोस्रो तथा पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समयमा तेस्रो भए ।

साग स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १ घण्टा २० मिनेट १९ सेकेन्ड समय लगाइन् । १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल प्रहरीकी राममाया बुढा दोस्रो तथा १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेस्रो बने ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो । मुकेशबहादुर पालले ३१ मिनेट १८.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । सञ्जय श्रेष्ठ (३१ मिनेट २४.१४ सेकेन्ड) दोस्रो तथा राजेन्द्र राई (३१ मिनेट ३४.३८ सेकेन्ड) तेस्रो भए ।

महिला खुला ५ किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सृजना पाण्डेय पहिलो भइन् । प्रहरीकी राजपुरा पछाईं (२१ मिनेट ३८ सेकेन्ड) दोस्रो तथा आर्मीकी निर्मला केसी (२२ मिनेट ३० सेकेन्ड) तेस्रो बने ।

कान्तिपुर

Link copied successfully