तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा सोमबार बिहान एकदिने एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगिता सुरु भएको छ । बिहान तिलोत्तमा-१७ दरखसवामा रहेको मैदानमा प्रतियोगिता सुरु भएको हो । पूर्व दरखसवामा अवस्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन अवसरमा सोमबार प्रतियोगिता आयोजना गरिएको हो।
टी-१० संरचनामा सञ्चालन भइरहेको एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उदघाटन अवसरमा आयोजित कार्यक्रममा सहभागी स्थानीय तह, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले वैदेशिक रोजगारीमा अस्ट्रेलियामा रहेका व्यक्तिको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरेर प्रतियोगिता आयोजना गरिएकोमा प्रशंसा गरे । उदघाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन प्रमुख अतिथि छन् ।
रुपन्देहीबाट संघमा प्रतिनिधित्व गर्ने विष्णु पौडेल, छविलाल विश्वकर्मा, बासुदेव घिमिरेका साथै गुल्मीबाट प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र गोकर्ण विष्टले नीजि लगानीमा रंगशाला निर्माणले वैदेशिक रोजगारीमा रहेर मुलुकमा केही गर्न चाहने युवालाई प्रोत्साहन गर्ने जनाए ।
पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबीच भइरहेको छ । सन् १९९६ को टिमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टिमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खडकाले गरिरहेका छन् ।
तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरका रूपमा यती एयरलायन्स रहेको छ । अस्ट्रेलियामा रहेका गुल्मीका विनोद कुँवरको लगानीमा गत जेठ २९ गते शिलान्यास भएको यो मैदान पिच निर्माणका साथै मैदान हरियो भएपछि तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप आयोजना गर्न लागिएको आयोजक एक्स्ट्राटेक प्रालिले जनाएको छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमताको प्यारापिट गरी अगामी ३ वर्षभित्र यसको निर्माण कार्य सकाउने लक्ष्य रहेको लगानीकर्ता कुँवरले बताए । उक्त रंगशाला २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको हुनेछ ।
एक्स्ट्राटेक ओभल प्रालि निर्देशक कुँवरले रंगशाला निर्माणको घोषणा गर्दा यसले पूर्णता हाँसिल गर्नेमा शंका रहेको जनाउँदै समयै निर्माण पूरा गरेर शंका निवारण गरेको जनाए ।
नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडीले लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय आधिकारिक कप्तान उत्तमकुमार कर्माचार्य विदेशमा रहेकाले उनी लिजेन्ड्स ९६ टोलीमा हुने छैनन् भने विकेटकिपर गणेश शाहीको निधन भइसकेको छ ।
नेपालले २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी-२० विश्वकप खेलेको थियो । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोलीबीचको कम्बिनेसन रहेको रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गर्नेछन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित नेपालबाट अन्तर्राष्ट्रिय खेलेका खेलाडी रहेका छन् ।
२००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको नेपालको पहिला महिला क्रिकेट टोलीका चार खेलाडीले लिजेन्ड कपमा सहभागिता जनाइरहेका छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट सहभागी छन् । त्यस्तै गायक प्रमोद खरेलले रेस्ट अफ नेपाल, बद्री पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट प्रतिस्पर्धा गरिरहेका छन् ।
