एथलेटिक्स पुनर्गठन तयारीमा राखेप

नेपाल एथलेटिक्स संघलाई नेपाल ओलम्पिक कमिटीमा पुग्ने भर्‍याङ बनाउन केही एनओसीका पदाधिकारी र प्रदेश खेलकुद परिषदका सदस्य–सचिवको पनि अस्वाभाविक चलखेल बढेको चर्चा खेलकुदजगतमा व्याप्त छ ।

फाल्गुन १३, २०८०

विनोद पाण्डे

Athletics Reorganization Prepared

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल एथलेटिक्स संघलाई पुनर्गठन गर्ने तयारी गरेको छ । नेपाली खेलकुदको जननी मानिएको एथलेटिक्स संघ समयसाक्षेप चल्न नसकेको आरोप लगाउँदै परिषद्ले फेरबदलको तयारी गरेको हो । 

नेपालगन्ज म्याराथन प्रालिद्वारा हालै गोपीचन्द्र पार्कीलाई लन्डन म्याराथनमा सहभागी गराउने घोषणा कार्यक्रममा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एथलेटिक्स संघ पुनर्गठन गर्न लागेको उद्घोष गरेका थिए । राजीवविक्रम शाहको चारवर्षे दोस्रो कार्यकाल सकिएको छ । एथलेटिक्स संघले नयाँ निर्वाचनका लागि मिति माग्दा राखेपले स्वीकृति प्रदान गर्न रोक्दै आएको छ ।

‘एथलेटिक्स संघ कता–कता हराइरहे जस्तो देखिन्छ, त्यसैले हामीले यसको पुनर्गठन तयारी गरेका छौं,’ संघसँग समन्वय गरेर नै फेरबदल गर्न लागिएको बताउँदै घिसिङले भनेका थिए, ‘यो विषयमा एथलेटिक्सका अध्यक्ष (शाह) सँग पनि छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय निकाय विश्व र एसिया एथलेटिक्सको रोहबरमै नेपाल एथलेटिक्सको पुनर्संरचना गरिन लागिएको हो ।’

राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले पनि संघ प्रभावकारी बन्न नसकेको गुनासो आफूहरूसमक्ष आइरहेको जनाउँदै सोही कार्यक्रममा भनेका थिए, ‘दक्षिण एसियामा हामी म्याराथनमा शीर्षमा छौं, तर संघ त्यो भूमिकामा नहुँदा म्याराथन र हाफ म्याराथनमा हामी लक्ष्यमा पुग्न सकिरहेका छैनौं जस्तो लाग्छ । खेलाडीहरूले नै राम्रोसँग अभ्यास गर्न नपाएको गुनासो गरिरहेका हुन्छन् ।’

२०७२ सालको चितवनमा सम्पन्न साधारणसभाबाट शाह नेपाल एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित भएका थिए । २०७६ मा काठमाडौंमा भएको निर्वाचनबाट शाह पुनः अध्यक्षमा दोहोरिएका थिए । नेपाली कांग्रेसका प्रदेश सांसद रहेका शाहले पुनर्गठनको विषयमा राखेपसँग छलफल भइरहेको विल्कुल सही भए पनि संघले सोचेअनुरुप कार्य गर्न नसकेको राखेपको आरोपप्रति भने आश्चर्य जनाए । शाहको पछिल्लो चारवर्षे कार्यकाल सकिएपछि उनकै अध्यक्षतामा राखेपले संघको तदर्थ समिति गठन गरेको थियो । त्यसलाई विश्व एथलेटिक्सको साधारणसभामा मान्यता दिइएन । विश्व एथलेटिक्स र एसिया एथलेटिक्सले प्रतिनिधि पठाएर राखेप सदस्य–सचिवसँग वार्ता गरी नयाँ तदर्थ समिति गठन गर्ने अनि विधान संशोधन गरी चुनाव गर्ने योजना रहेको शाहले बताए । 

‘एसियन एथलेटिक्सका कार्यक्रमहरूको व्यस्तता कारण एक साताभित्र एसियाबाट पदाधिकारीहरू आउने भनेका छन् । हामी उनीहरूलाई कुरिरहेका छौं । त्यसपछि नयाँ तदर्थ समिति बनाउँछौं र त्यसले विधान तयार गर्छ । विधानमा पनि अलिकति विवाद आएको भएर विश्व एथलेटिक्सअन्तर्गतको रोहबरमा मात्र विधान परिवर्तन गर्न सकिने भएकाले सल्लाह गर्न लागिएको हो,’ अध्यक्ष शाहले सुनाए । उनले थपे, ‘६ महिनाअघि तदर्थ समिति बनाइएको र त्यसको समयसीमा ३ महिना तोकिएको थियो र अहिले त्यो समय पनि सकिएको छ । विश्व एथलेटिक्सले त्यो समितिलाई मान्यता दिएन । विश्व एथलेटिक्सकै मार्गनिर्देशनमा संघको विधान बन्ने छ ।’

एथलेटिक्स संघलाई चुनाव आवश्यक महसुस भएन प्रश्नमा शाहले गत मंसिरमा संघ चुनावमा जान लागे पनि खेलकुद ऐनको कुरा ल्याएर राखेपले रोकेको र त्यसपछि तदर्थ समिति गठन गर्नुपर्‍यो भनेको बताए । ‘खेलकुद ऐनले खेल संघहरू स्वायत्त नै हुने भनेको छ, त्यसमा खेलकुद परिषद नियमन निकाय भएकाले सहकार्य गर्न लागिएको हो,’ शाहले भने, ‘अन्तर्राष्ट्रिय स्वीकृतिविना हामीले बाहिरी मुलुकमा भाग लिन पाउदैनौं र खेलकुद परिषद पनि देशको सर्वोच्च खेलकुद निकाय भएकाले सबैलाई मिलाएर लान लागिएको हो । समझदारीमा अगाडि बढ्दा नेपाली एथलेटिक्सलाई नै फाइदा हुने विश्वास छ ।’ 

एथलेटिक्स संघलाई नेपाल ओलम्पिक कमिटीमा पुग्ने भर्‍याङ बनाउन केही कमिटीका पदाधिकारी र प्रदेश खेलकुद परिषदका सदस्य–सचिवको पनि अस्वभाविक चलखेल बढेको चर्चा खेलकुदजगतमा व्याप्त छ । तर, कसैको व्यक्तिगत स्वार्थमा एथलेटिक्स संघ नपर्ने दाबी अध्यक्ष शाहको छ । 

‘नेपालमा हरेक क्षेत्रमा राजनीतिको हस्तक्षेप हुँदारहेछ, राजनीति गर्ने भए पनि अलिकति खेलकुद बुझेको मान्छे छ भने उसलाई जिम्मेवारी दिँदा हुन्छ,’ शाहले भने, ‘तर उसले सानो पोस्टबाट काम सुरु गर्दा राम्रो हुन्छ । एकै पटक ठूलो पोस्ट लिन खोज्यो भने ठूलै समस्या हुन्छ । आउन पाएको छैन, एथलेटिक्स संघको टाउकोमा टेकेर ओलम्पिक कमिटी जान खोज्नेहरूदेखि हामी सबै सतर्क हुनुपर्छ ।’ 

फेरि शाहकै तयारी

उपाध्यक्ष हुँदै शाह नेपाल एथलेटिक्स संघको अध्यक्ष भएका थिए । अब उनी तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा लड्ने तयारीमा देखिन्छन् । एथलेटिक्सको सर्वोच्च निकायका पदाधिकारीहरूले आफूलाई तेस्रो कार्यकालमा जान प्रेरित गरेको शाह सुनाउँछन् ।

‘मैले दुई कार्यकाल अध्यक्ष खाइसकें, मेरो अरू पनि जिम्मेवारी छ भनेर एसियाका अध्यक्षलाई भनेको थिएँ । अर्को एक कार्यकाल चलाउन मिल्छ भने नछोड भन्दै हामीले तिम्रो क्षमता पहिचान गरेका छौं भनेका छन्,’ अध्यक्ष शाहले एसिया एथलेटिक्सका पदाधिकारीहरूको हवाला दिँदै सुनाए, ‘तिमीले आफ्नो देशमा मात्र नभई एसियाली स्तरमा पनि टेवा पुर्‍याउन सक्छौं भनेका छन् । यसपालि एसियाली एथलेटिक्सको चुनावमा ४१ मध्ये ३४ मत ल्याउन सफल भएको थिएँ । त्यसले गर्दा मलाई फाइनान्स कमिटीमा राखिएको छ । राम्रोसँग योजना बनाउने हो भने त्यहाँबाट पनि नेपालमा थप बजेट ल्याउन सकिन्छ ।’

उनले नेपाललाई दक्षिण एसियाको मुख्यालय बनाउने चाहना रहेको बताए । भने, ‘म अहिले एसियाली बोर्डमा सदस्य छु, यो नेपालका लागि नै गौरवको विषय हो । फाइनान्स कमिटीमा पनि छु । एसियाली एथलेटिक्सले ४४ देशलाई क्षेत्रीय हिसाबमा छुट्याएको छ । हामी दक्षिण एसियाली क्षेत्रमा पर्छौं, त्यसमा पनि म उपाध्यक्ष छु । दक्षिण एसियाको मुख्यालय नै नेपालमा ल्याउने मेरो इच्छा छ । त्यसो भयो भने नेपालबाटै दक्षिण एसिया हेर्न सकिन्छ । अफिस स्थापना गरेपछि अन्तर्राष्ट्रिय प्रशिक्षकहरू आउँछन् होला, बजेट पनि बढेर आउँछ, त्यसले अन्ततः हाम्रै खेलाडीलाई टेवा पुग्ने त हो ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully