कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अंगिरा मृत्यु प्रकरण : अनसन्धानका लागि ७ दिन म्याद थप

दोषीलाई कारबाही गर : मानव अधिकार आयोग
सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको देवदह–११ की १३ वर्षीया किशोरी अंगिरा पासीको मृत्यु प्रकरणका आरोपीहरुलाई थुनामा राखेर अनुसन्धानका लागि शुक्रबार ७ दिनको म्याद थप गरिएको छ ।

शुक्रबार जिल्ला अदालतले बयान लिएर अनुसन्धानका लागि म्याद थप गरेको इलाका प्रहरी बुटवलका डीएसपी प्रतितसिंह राठौरले बताए । म्याद थप गरेर बयान सुरु गर्ने तयारी भएपनि समय अभावका कारण सम्भव नभएको उनले बताए । एकसातामा बयानको काम सकिने प्रहरीले बताएको छ ।

अंगिराकी आमा शान्तीले मंगलबार छोरीको जबरजस्ती करणीपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएको थिइन् । घटनामा संलग्‍न आरोपमा बिहीबार विरेन्द्र भर, उनकी आमा अकाली र ठूलीआमा शितली पक्राउ परेका थिए ।

उनीहरुलाई शुक्रबार सरकारी वकिलको कार्यालय भैरहवामा बयानका लागि लगिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न भिसेरा र बालिकाको भेजाइनल स्वाब परीक्षणका लागि शुक्रबार काठमाडौं पठाएको छ ।

यसैबीच मानव अधिकार आयोगको बुटवलस्थित कार्यालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै अंगिराको मृत्यु शंकास्पद भएको जनाउँदै घटनामा संलग्‍न दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

आयोगले घटनापश्चात दोषीलाई कानुनी दायरामा लैजानुको सट्टा स्थानीय जनप्रतिनिधि समेतको रोहबरमा आरोपितलाई नै नाबालिका जिम्मा लगाइएको उल्लेख छ । साथै जातीय विभेद देखाएर बालिकालाई घरभित्र पस्‍न नदिनु र लगत्तै उनको मृत्यु हुनुले संविधानमा उल्लेखित बालबालिकाको अधिकार, जातीय विभेदविरुद्धको अधिकार र सम्मानजनक बाँच्‍न पाउने अधिकार हनन भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगले आरेपितका साथ घर पठाउने उपर समेत अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

गत शनिबार अपरान्ह देवदह–२ स्थित रोहीणी खोला किनारमा किशोरी झुण्डिएको अवस्थामा फेला परेकी थिइन । शुक्रबार राति घरबाट निस्केकी उनको खोजीमा गएका गाउँलेले स्थानीय कोइला भनिने २५ वर्षीय वीरेन्द्र भरसित आपत्तिजनक अवस्थामा बस्ती नजिक खरियानमा किशोरीलाई भेटेका थिए ।

स्थानीयका अनुसार गाउँले पुगेर प्रश्‍न गर्न थालेपछि वीरेन्द्र भागेका थिए । स्थानीयले किशोरीलाई घरमा ल्याएका थिए । त्यसपछि बसेको गाउँ भेलाले किशोरीलाई वीरेन्द्रको जिम्मा लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार :

देवदहकी किशोरीको ‘बलात्कारपछि हत्या’

प्रकाशित : जेष्ठ १६, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?