कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देवदहकी किशोरीको जबरजस्ती करणीपछि हत्या गरिएको भन्दै किटानी जाहेरी

किशोरीका परिवारले सोमबार जाहेरी दर्ता गर्ने प्रयास गरेका थिए । प्रहरीले नमानेपछि अधिकारकर्मीको दबाबमा दर्ता गरिएको छ । फरार अझै पक्राउ परेका छैनन् ।

रुपन्देही — गत शनिबार अपराह्न देवदह नगरपालिका–२ स्थित रोहिणी खोलामा झुन्डिएको अवस्थामा फेला परेकी देवदह–११ बड्की गुम्मीकी किशोरी अंगीरा पासीको जबरजस्ती करणीपछि हत्या गरिएको दाबीसहित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

किशोरीकी आमा शान्ति पासीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गराएको किटानी जाहेरीमा स्थानीय २५ वर्षीय कोइला भनिने वीरेन्द्र भरले देवदह–२ पेटवनियास्थित रोहिणी छेउमा शनिबार अपराह्न उक्त कसुर गरेको उल्लेख गरेकी छन् ।

परिवारले सोमबार जाहेरी दर्ता गर्ने प्रयास गरेको थियो । प्रहरीले नमानेपछि अधिकारकर्मीको दबाबमा मंगलबार साँझ जाहेरी दर्ता गरिएको हो । जाहेरीमा आमाले शुक्रबार साँझ छोरी घरबाट निस्किएको र अबेरसम्म नआएपछि परिवार र गाउँले मिलेर खोजी गर्दा करिब ११ बजेतिर बस्तीको पूर्व रहेको खरियानमा जबरजस्ती करणी गरिरहेको अवस्थामा फेला परेको उल्लेख गरेकी छन् । तत्काल आरोपी वीरेन्द्रलाई गाउँलेले नियन्त्रणमा लिएको र छोरीको उद्धार गरेको पासीले उल्लेख गरेकी छन् ।

सोही रात भएको गाउँभेलाले कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । तर, शनिबार बिहान ७ बजे भएको भेलामा विपक्षी वीरेन्द्रले अंगीरालाई श्रीमती स्वीकार्ने जनाएको उल्लेख छ । साथै देवदह–११ का वडाध्यक्ष अमरबहादुर चौधरीले समेत छोरीलाई विपक्षीको जिम्मा लगाएको शान्तिले जाहेरीमा उल्लेख गरेकी छन् । जबरजस्ती करणी कसुरबाट बच्नका आफ्नी छोरीलाई वीरेन्द्रले श्रीमती स्वीकारेर घरमा लगेको त्यसपछि वीरेन्द्रकी आमा र ठूलीआमाले लठ्ठीले कुटी जहाँबाट ल्याएको त्यही छाड्न भनेको जाहेरीमा उल्लेख छ ।

शनिबार अपराह्न ४ बजे देवदह–२ पेटवनियास्थित रोहिणी किनारको रुखमा झुन्डिएको अवस्थामा छोरी फेला परेको शान्तिको भनाइ छ । आफूले घटनास्थलमा पुगेर हेर्दा छोरीको कपडा च्यातिएको, रुखमा चुन्नीको पासो लगाएर झुन्ड्याइएको जस्तो देखिएको, शवमा घाउचोट रहेको जाहेरीमा भनिएको छ ।

किशोरीकी आमाले मुख्य आरोपी वीरेन्द्र, उनका बाबु र आमालगायत विरुद्ध किटानी दिएकी हुन् । प्रहरीका अनुसार बुधबारसम्म आरोपी फरार छन् । इलाका प्रहरी बुटवलका डीएसपी प्रतितसिंह राठौरले किटानीमा जबरजस्ती करणी गरेर हत्या भएको उल्लेख गरिएको बताए । ‘घटनाको प्रारम्भिक अनुसन्धानमा किशोरीले झुन्डिएर आत्महत्या गरेको देखिन्छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट नआउँदासम्म कारण यकिन गर्न सकिन्न ।’ आरोपीविरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजी भइरहेको उनले बताए । किशोरीको मंगलबार साँझ पोस्टमार्टम गरिएको थियो । रिपोर्ट आउन एकदुई लाग्ने प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि शव बुझेका परिवारले बुधबार बिहान अन्त्येष्टि गरेका छन् ।

देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले प्रहरीले अनुसनधान सुरु गरिसकेकाले धेरै बोल्न नमिल्ने बताए । ‘दोषीलाई कारबाही हुनुपर्छ भन्ने विषयमा कटिबद्ध छु,’ उनले भने, ‘नाबालिका भएकाले सहमतिमा पनि यसरी जिम्मा लगाउन मिल्दैन ।'

वडाध्यक्ष चौधरीले केटी नाबालक रहेको र विवाह गर्न नमिल्ने भनेर सम्झाउन खोजेको दाबी गरेका छन् । ‘राति नै केटाको जिम्मा लगाइसकेका रहेछन्,’ चौधरीले भने, ‘बालिका र उनकी आमाले इज्जत गइसक्यो, अब यही केटाले लगे छोरी जाने र पठाउने बताएपछि मैले स्थानीय र आमाछोरीको कुरामा सहमति जनाएर त्यहाँबाट बाहिरिएको हुँ ।’

प्रकाशित : जेष्ठ १४, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?