२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३०

मजदुरलाई घरमै पुगेर नगरपालिकाले दियो खाद्यान्‍न

राजकुमार कार्की

सिन्धुली — कोरोना भाइरस (कोभिड- १९) संक्रमण बढ्ने सम्भावित खतरालाई मध्यनजर गर्दै लकडाउनको अवधि लम्बिएपछि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका ६० परिवारलाई कमलामाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ ।

मजदुरलाई घरमै पुगेर नगरपालिकाले दियो खाद्यान्‍न

ग्वाङखोलामा गिटी कुटेर गुजारा गर्दै आएका विपन्न परिवारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको हो ।

नगरप्रमुख खड्गबहादुर खत्रीका अनुसार खाद्यान्नलगायत राहत घरमै पुर्‍याएर वितरण गर्न सुरु गरिएको र संकलित तथ्यांकका आधारमा थप परिवारलाई राहत प्याकेज दिइने भएको छ ।

लकडाउनका कारण घरमै रहेका उनीहरूलाई खानको समस्या भएकाले चामल २० किलोको एक बोरा, दाल तीन किलो, आलु, चिनी, खानेतेल, नुन र बेसार वितरण गरिएको छ ।

नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार कमलामाई नगरपालिकाले नगर क्षेत्रमा मजदुरी गर्ने परिवारका ३९४ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । स्वास्थ्य बीमा गर्ने यी मजदुरमध्ये पहिलो चरणमा ६० जना गिटी कुट्ने मजदुरलाई राहत प्याकेज वितरण गरिएको हो । अन्यलाई दोस्रो चरणमा खाद्यान्न वितरण गरिनेछ । बीमा नभएका मजदुरको पनि लगत संकलन भइरहेको छ ।

यसैबीच सुपथ मूल्यको घुम्ती पसल कमलामाई नगरपालिकाको विद्युत चोक, माझीटार, बर्देउटार, डाडाटोल, रातमाटा प्लानिङ, पानीट्यांकी, ढुंग्रेबास, मिलन चौक र खट्टार, बजार क्षेत्र, धुराबजार लगायतका स्थानमा लगिएको छ । लकडाउनका कारण घरबाट बाहिर हिँड्न नपाएका उपभोक्ताहरूले घर आँगनमै सामान पाउँदा हारालुछ गरी किनेको सिन्धुली उद्योग वाणिज्य संघका अर्जुनकुमार श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र १८, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?