कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४५ मजदुरको उद्धार, ३० अझै अलपत्र

रमेशचन्द्र अधिकारी

धनकुटा — लकडाउनका कारण तमोर करिडोर सडक निर्माणमा कार्यरत ७५ जना मजदुरमध्ये ४५ जनाको उद्धार गरिएको छ । धनकुटा, पाँचथर र सुनसरी जिल्ला जोड्ने तमोर करिडोरका विभिन्न स्थानमा सडक निर्माणका क्रममा मजदुर खटिँदै आएका थिए ।

पछिल्लो विषम अवस्थाका कारण उनीहरुको दैनिक मजदुरीको काम रोकिएपछि मजदुर अलपत्र परेका थिए ।

रौता सन्तोषी जेभी कस्न्ट्रक्सनमार्फत लावरबोटेदेखि नावा खोलासम्मको सडक निर्माणमा रहेका ४५ मजदुरलाई जिल्ला प्रशासन कार्यालय तथा चौबिसे गाउँपालिकाको पहलमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । एक साता बढी अलपत्र रहेर आफूहरु घर जान पाएको सुपरभाइजर राजन थापाले बताए । उद्धार गरिएका मजदुरहरु सिन्धुली, दोलखा, इलाम, पाँचथर, धनकुटा, गोर्खा, सिन्धुपाल्चोकलगायतका छन् ।


त्यस्तै सुनसरीको चतारामा रहेका ३० मजदुर भने अझै सोही स्थानमा रहेको त्यहाँ कार्यरत सुपरभाइजर उदय कार्कीले जानकारी दिए । कतिपय पैदल हिँडेरै घरतर्फ फर्किएको थापाको भनाइ छ । शर्मा एन्ड कम्पनी कस्न्ट्रक्सनमार्फत सुनसरीको चतारास्थित बराहा क्षेत्रको १६ किलोमिटर क्षेत्रफलमा निर्माणाधीन सडकमा ती मजदुर रहेका छन् ।


सुपरभाइजर कार्कीका अनुसार बाँके, रामेछाप, नवलपरासी, भैरहवा, उदयपुर सप्तरी लगायत जिल्लाका मजदुर कार्यरत छन् । यसरी अपलत्र परेकालाई सम्बन्धित निर्माण कम्पनिले प्रशासनमा जानकारी गराएमा उद्धार गर्न सकिने धनकुटाका प्रमुख जिल्ला अधिकारी विमलीले बताए । उनले अलपत्र परेका सबैलाई प्रक्रियागत रुपमा उद्धार गरिने जानकारी दिए ।

प्रकाशित : चैत्र १९, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?