रास्वपा महामन्त्री विपिन आचार्यले भने- 'पहिलो चरणको मनोनयन हुन्छ । कति जना केन्द्रीय सदस्य र पदाधिकारी भन्ने कुरा ठ्याक्कै स्पष्ट भइसकेको छैन । केन्द्रीय सदस्य र पदाधिकारी पनि मनोनयन हुन्छ ।'
काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको ५१ केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयन प्रक्रिया अगाडि बढ्ने भएको छ । पार्टीमा केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी मनोनयनका लागि सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
पार्टी महामन्त्री विपिन आचार्यका अनुसार केन्द्रीय समितिको बैठक साउन १३ गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
केन्द्रीय समितिको बैठकमा पहिलो चरणको मनोनयन हुने् महामन्त्री आचार्यले बताए । 'पहिलो चरणको मनोनयन हुन्छ । कति जना केन्द्रीय सदस्य र पदाधिकारी भन्ने कुरा ठ्याक्कै स्पष्ट भइसकेको छैन । केन्द्रीय सदस्य र पदाधिकारी पनि मनोनयन हुन्छ,' आचार्यले भने ।
केन्द्रीय समिति बैठकका लागि पाँच एजेन्डा तय भएका छन् । सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध गरी पाँच एजेन्डामा छलफल हुने आचार्यले जानकारी दिए ।
रास्वपाको विधानको व्यवस्थाअनुसार ५१ केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुने छन् र ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन् ।
