एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्- विगतमा एकता र विभाजनको गम्भीर समीक्षा नगरी भएको सहमतिको आधार बलियो देखिँदैन । यो दुई नेताको स्वार्थ केन्द्रित सहकार्य हो ।
What you should know
काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमाथि पार्टीभित्रै असन्तुष्टिका आवाज उठेको छन् । ओली र दाहालबीच शनिबार पार्टीमा अनौपचारिक निर्णयबिनै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि पार्टीपङ्तिमा असन्तुष्टिका स्वर सुनिन थालेका हुन् ।
नेकपासँग सहकार्य गर्नेबारे ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसँग अनौपाचारिक कुराकानी गरे पनि कमिटीमा औपचारिक निर्णय गराएका थिएनन् । ओली र दाहालबीच कार्यगत सहकार्यका लागि धेरै चरणमा कुराकानी भरेका थिए । १४ असारमा मदन भण्डारीको ७५औं जन्मजयन्तीमा ओली, दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चबाट वाम सहकार्यको आवश्यकताबारे बोलेका थिए ।
ओली र दाहालले अस्वस्थ प्रतिस्पर्धालाई समाधान गर्ने, राजनीतिक स्थिरता, सुशासन, सम्वृद्धि र प्रादेशिक विकासको गतिलाई बढाउने भन्दै सहमति गरेका थिए ।
‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधन गर्दै जनताको चाहनाअनुरुप राजनीतिक स्थिरता, सुशासन, सम्वृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी निम्नानुसारको सहमतिमा पुगेका छौ’ ओली र दाहालले हस्ताक्षर गरेको सहकार्यसम्बन्धी सहमतिपत्रमा उल्लेख छ ।
शीर्ष नेताबीच सहकार्यको सहमति भए पनि पार्टीमा औपचारिक छलफल नभएको बताउँछन एमाले उपाध्यक्ष गोकर्ण विष्ट । ‘हामीले नेकपा संयोजक पुष्पकमल दाहालसँग सहमति भएपछि मात्रै थाहा पायौं । यसबारे पार्टीमा छलफलनै भएको छैन,’ उनले भने ।
नेकपासँग सहकार्य गर्नुको औचित्य पुष्टि हुनुपर्ने एमाले नेताहरूको भनाइ छ । ०७४, ०७९, ०८० सालमा माओवादीसँग सत्ता सहकार्य भए पनि ओली र दाहालकै कारण टुटेकाे र अहिलेको सहकार्यको पनि बलियो आधार नदेखिएको एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बताउँछन् । ‘विगतमा एकता र विभाजनको गम्भीर समीक्षा नगरी भएको सहमतिको आधार बलियो देखिँदैन,’ उनले भने, ‘यो दुई नेताको स्वार्थ केन्द्रित सहकार्य हो ।’
एमाले र नेकपाबीच पछिल्लो सहकार्यको पछाडि राजनीतिक कारण छैन । जेन-जी आन्दोलनपछि एमाले र नेकपाले सामना गर्दै आएको संकटले ओली र दाहालबीच सहमति हुन बाध्य पारेको हो । ‘राजनीतिक बहस र बिश्लेषणका आधारमा भएको सहमति होइन,’ पोखरेलले भने, ‘यो कतिसम्म जान्छ ? यसको राजनीतिक उद्देश्य कति ठूलो हो ? स्पष्ट छैन ।’
एमाले सचिव भानुभक्त ढकालले आवश्यकताअनुसार अध्यक्ष ओलीले वरिष्ठ नेतासँग छलफल गरे नेकपासँग सहकार्य गर्ने सहमति भएको बताए । ‘आवश्यकताले गर्दा यो सहमति भएको हो,’ उनले भने, ‘कतिपय निर्णय अनौपचारिक छलफलका आधारमा पनि गर्न सकिन्छ । अहिले भएको त्यही हो ।’
एमाले उपमहासचिव योगेश भट्टराईले ओली दाहालबीच भएको सहमतिलाई ‘छापामार’ शैली भनेका छन् । ‘आ–आफ्ना पार्टीमा रडाको । उही छापामार शैली । छैन सहभागिता । छैन पारदर्शिता’ उनले सामाजिक सन्जाल एक्समा भनेका छन्, ‘नियत र प्रक्रियामा प्रश्नैप्रश्न । पटक/पटक उही गल्ती । जवाफदेहिता खै ?’
एमालेसँग सहकार्य गर्ने विषयमा नेकपा केन्द्रीय पदाधिकारी बैठकले पनि निर्णय गरेको छैन । दाहालले एमालेसँग सहकार्यका लागि गृहकार्य गर्ने जिम्मा नेता वर्षमान पुन र प्रमेश हमाललाई दिएका थिए ।
दाहालले सहसंयोजक माधवकुमार नेपाललगायत वरिष्ठ नेतासँग अनौपचारिक छलफल गरी प्रदेशहरूमा एमालेसँग गठबन्धनमा सहमतिबारे जानकारी गराएका थिए । नेपालमा वाम आन्दोलन संकटमा पर्न लागेको, सरकार प्रतिशोध लिने बाटोमा गएको, संघीय लोकतान्त्रिक प्रणालीलाई बिथोल्न खोजिएको भन्दै दाहालले एमालेसँग सहकार्यको आवश्यकता भएको बताएका थिए ।
सहसंयोजक नेपालले ओलीसँग सहकार्य गर्दा धेरै विचार पुर्याउनुपर्ने सुझाव दिएका थिए । उनले ओलीले अहिले सहकार्य गरे पनि कुनै पनि बेला तोड्न सक्ने आशंका गरेको एक नेताले बताए ।
नेकपा नेता बेदूराम भुसालले पार्टीको उच्च तहमा छलफलपछि एमालेसँग सहकार्यका लागि निर्णय लिइएको बताए । ‘एमालेसँग फेरि सहकार्यको थालनी भएको छ । यो वाम सहकार्यका लागि परीक्षा पनि हो,’ उनले भने ।
नेकपाका अर्का वरिष्ठ नेताले नेकपा विभाजनको गम्भीर समीक्षा र आगामी राजनीतिक बाटो तय नगरी भएको सहमति टिकाउ नहुने बताए । ‘विगतको टुटफुट र विभाजनको गम्भीर समीक्षा नगरी भएको सहमति सत्ता स्वार्थसँग जोडिन्छ,’ ती नेताले भने, ‘अहिले केपी र प्रचण्डबीच भएको सहमति पनि त्यही हो ।’
आगामी वर्ष स्थानीय र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरी एमाले र नेकपाको सहकार्यको थालनी भएको नेताहरुले बताएका छन् । तर ०७४ सालको आम निर्वाचनमा एमाले र तत्कालीन माओवादीबीच चुनावी गठबन्धन र जेठ ०७५ मा पार्टी एकता भएको थियो । ओली र दाहालको नेतृत्व लिने टकरावका कारण फागुन ०७७ मा तत्कालीन नेकपा विभाजन भएको थियो । त्यसबेला राजनीतिक, वैचारिक र नेतृत्वबारे स्पष्ट बहस र विधि तय हुन नसक्दा अध्यक्षद्वय ओली र दाहालले करिब दुई तिहाइ नजिकको जनमतलाई बेवास्ता गरेका थिए ।
